![]()
महेश सिंह सिरहा- बोदे बरसाईन नगरपालिका–१० खडकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा वार्षिक शैक्षिक क्यालेन्डर कार्यक्रम अन्तर्गत शुक्रबार नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
नगरपालिकाभरिका ३० वटा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताअन्तर्गत कक्षा १–५ का विद्यार्थीबीच चित्रकला प्रतियोगिता, कक्षा १–१२ सम्मका विद्यार्थीका लागि गायन प्रतियोगिता, कक्षा ६–८ का विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता तथा कक्षा ९–१२ सम्मका विद्यार्थीहरूका लागि खुला नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सिर्जनात्मकता,आत्मविश्वास र प्रस्तुति कौशल देखाउँदै अतिरिक्त कलाको उत्कृष्ट प्रदर्शन गरेका थिए। निर्णायकहरूले विषयवस्तु, प्रस्तुति,मौलिकता र अनुशासनका आधारमा मूल्यांकन गरेका थिए।
नगरपालिकाले यस्ता प्रतियोगितामार्फत विद्यार्थीहरूको बहुआयामिक क्षमता विकास, नेतृत्व सीप अभिवृद्धि तथा शैक्षिक वातावरणलाई सिर्जनशील बनाउने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रममा सहभागी विद्यालय, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आगामी चरणमा थप अवसर प्रदान गरिने नगर शिक्षा शाखाले जानकारी दिएको छ।














Discussion about this post