![]()
महेश सिंह, लहान–सिरहा- नेपाल कुशवाहा कल्याण समाज, सिरहाको आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
‘संगठित कुशवाहा, समृद्ध समाज’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम शनिबार सिरहाको लहानस्थित कुशवाहा अतिथि सदन, सरहाजारमा सम्पन्न भएको हो।
नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्यसमिति सिरहा र नेपाल कुशवाहा युवा कल्याण समाज सिरहाको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा कुशवाह बुद्धिजीवी सेवा समाज, नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज तथा नेपाल कुशवाहा व्यापार कल्याण समाज सिरहाले सहआयोजन गरेका थिए।

कार्यक्रममा सिरहा जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, व्यापारी, विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली समाजका मौलिक चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै एकअर्कामा पर्वको शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रममा कुशवाहा समुदायको एकता, हकहित संरक्षण, सामाजिक पहिचान र राज्यका विभिन्न निकायमा समुदायको पहुँच विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।
वक्ताहरूले कुशवाहा समुदायको समग्र विकासका लागि आपसी एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको औँल्याउँदै शिक्षा, राजनीति, प्रशासन, व्यापारलगायत सबै क्षेत्रमा समुदायको अर्थपूर्ण प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। समुदायका सदस्यहरू संगठित भएर साझा उद्देश्यका साथ अघि बढ्न सके सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो।
जिल्ला अध्यक्ष अशोक महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका पूर्वकेन्द्रीय अध्यक्ष तपेश्वर महतोको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी पूर्वमन्त्री शत्रुधन प्रसाद कोइरी, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो, समाजसेवी तथा नेता रामनारायण मेहता, फुलेश्वर महतो, चन्द्रनारायण कुशवाहालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले विजया दशमी, दीपावली तथा छठ पर्वले सम्पूर्ण कुशवाहा समुदायसहित समाजका सबै वर्गमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन विध्यानन्द सिंह (बीएन सिंह) ले गर्नुभएको थियो। उहाँले कार्यक्रममार्फत समुदायबीच एकता, सहकार्य र संगठन विस्तारको सन्देश प्रवाह भएको जानकारी दिनुभयो।














Discussion about this post