![]()
महेश सिंह लहान – माघी महोत्सव २०८२ को अवसर पारेर बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा सञ्चालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता २०८२ को फाइनल खेल माघ ३ गते सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिता क्लबका अध्यक्ष दिलिप चौधरीको नेतृत्वमा आयोजना गरिएको हो भने फाइनल खेल खेलकुद समिति संयोजक मुकेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा लहान नगरपालिका–२२ का वडा अध्यक्ष श्याम अधिकारी थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। उद्घाटन मन्तव्यका क्रममा वडा अध्यक्ष थारुले ग्रामीण स्तरमै रहेका खेल प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै प्रतियोगिता अनुशासित र मर्यादित रूपमा सम्पन्न गरिएकामा खेलाडी तथा आयोजकप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।
उद्घाटन खेलमा मलिथम एफसी, गाईघाट (उदयपुर) ले हेडबान एफसी, फतेपुर (सप्तरी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। आयोजकका अनुसार प्रतियोगितामा सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाबाट जम्मा १० वटा टोली सहभागी थिए। खेल अवलोकन गर्न गाउँ–गाउँबाट ठूलो संख्यामा खेलप्रेमी दर्शकको उपस्थिति रहेको थियो।
माघी महोत्सव माघ १ र २ गते भव्य रूपमा मनाइएपछि फुटबल प्रतियोगिताको समापन माघ ३ गते गरिएको क्लब अध्यक्ष दिलिप चौधरीले जानकारी दिनुभयो। माघी महोत्सवका प्रमुख अतिथि संघीय सरकारका खेलकुद मन्त्री बब्लु गुप्ता रहनु भएको थियो।
फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी रहने तय भए पनि उहाँ उपस्थित हुन नसक्दा स्थानीयले दुख व्यक्त गरेका थिए। सो अवसरमा विशिष्ट अतिथि वडा अध्यक्ष श्याम अधिकारी थारुले प्रमुख अतिथिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
फाइनल खेलमा मलिथम एफसी ले फ्युजन एफसी लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा बेस्ट गोलकिपरको उपाधि अनिल मगर, म्यान अफ द म्याच प्रीत चौधरी र बेस्ट डिफेन्डर आशिष थारु ले प्राप्त गरेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ५१ रुपैयाँ नगदसहित कप र मेडल तथा दोश्रो पुरस्कार ३५ हजार ५१ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।












Discussion about this post