![]()
महेश सिंह लहान सिरहा- मधेस जनविद्रोहका क्रममा सहादत प्राप्त गरेका सिरहाका सहिदहरूको स्मृतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का नेतृत्वले लहान–१ स्थित सहिदको सालिकामा माल्यार्पण तथा टीकाआबिर अर्पण गर्दै बलिदान दिवस मनाएका छन्। मधेसवादी दलहरूले प्रत्येक वर्ष माघ ५ गते सहिदप्रति सम्मान र सम्झनामा बलिदान दिवस मनाउँदै आएका छन्।
मधेस आन्दोलनको उद्गमभूमि मानिने लहानमा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता ‘राजु’, उद्योग, वाणिज्य तथा यातायात मन्त्री मनिष सुमन, प्रदेशसभा सदस्य ललिता दासलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, दिपेश यादव, नगेन्द्र यादव, रामसुफल यादव, परियागलाल यादव, संजिला यादव, शोभा साह, लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, महिला संघकी जिल्ला अध्यक्ष जानकी यादव, समाजवादी युवा संघका केन्द्रीय सदस्य ललितनारायण महतो, रासलाल राय, बिनिता यादव, गंगा मुखियालगायत नेताहरू तथा कार्यकर्ताले सहिद सालिकामा माल्यार्पण गर्दै बलिदान दिवस मनाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजकुमार गुप्ताले सहिदहरूको सपना साकार पार्न आफूहरू पछि नहटेको स्पष्ट पारे। मन्त्री हुनुअघि नै भौतिक पूर्वाधार विकासअन्तर्गत विद्यालय भवन, अस्पताल तथा सडक निर्माणका कामहरूमा आफू सक्रिय रहेको दाबी गर्दै उनले सहिदको आदर्शअनुसार विकास र समृद्धिको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उद्योग, वाणिज्य तथा यातायात मन्त्री मनिष सुमनले यातायात व्यवस्था कार्यालयमा देखिएका विकृति, विसंगति अन्त्य गर्न प्रभावकारी कदम चालिने बताए। उनले सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।
मधेस बलिदान दिवसका अवसरमा लहानमा आयोजित कार्यक्रममा सहिदहरूको योगदान स्मरण गर्दै मधेस आन्दोलनका उपलब्धि संरक्षण र अधिकार सुनिश्चितताका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।













Discussion about this post