![]()
महेश सिंह सिराहा- धनगढीमाइ नगरपालिका–१२ सिमलटोकस्थित मुसहर समुदायकी बोल्न नसक्ने अपाङ्ग तथा एकल महिला फुलकुमारी सदाको घर निर्माण कार्य सम्पन्न भई आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
सिराहा समाजसेबा आमजन्ता नेपालको पहलमा सञ्चालन गरिएको घर निर्माण अभियान अन्तर्गत अध्यक्ष प्रदीप महतो, मिडिया कर्डिनेटर अशोक महतो तथा सचिव निराजन सिंहको नेतृत्वमा घर निर्माण सम्पन्न गरिएको हो।
अपाङ्गता र आर्थिक अभावका कारण फुलकुमारी सदा आफ्ना १० वर्षीय छोरासहित जाडो याममा समेत खुला आकाशमुनि बस्न बाध्य रहँदै आएकी थिइन्। उनको कहालीलाग्दो अवस्थालाई देखेर अभियानकर्मीहरूले घर निर्माण अभियान सुरु गरेका थिए।
अभियानकर्मीहरूको अपिललाई स्विकार्दै विभिन्न मनकारी दाताहरू, धर्मात्मा व्यक्तित्वहरू, कर्मचारी, व्यापारी तथा स्थानीय बासिन्दाहरूले आर्थिक तथा सामग्री सहयोग गरेका थिए। संकलित सहयोगबाट घर निर्माण सम्पन्न गरी आज एक औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदीप महतोले गर्नुभएको थियो भने सञ्चालन मिडिया कर्डिनेटर अशोक महतोले गर्नुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा सिराहा समाजसेवा आमजन्ता साउदीका अध्यक्ष निशान महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगढीका अध्यक्ष गङ्गाराम यादव, उच्च अदालतका अधिकृत हरिशंकर महतो, शिक्षक ध्यानी महतो, समाजसेवी रोहितराज लम्साल, आँसु महतो, पूर्व ट्राफिक सई उपेन्द्र महतो, युवा समाजसेवी कासी कटुवाल, विवेक महतो, संस्थाका उपाध्यक्ष रमेशकुमार यादव, सचिव निराजन महतो, सदस्य अशोक महतो, बुद्धिजीवी शिक्षाप्रेमी मोतिलाल महतो, पत्रकार अनिल सिंहलगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अभियानमार्फत संकलन भएको कुल आय र खर्चको विस्तृत विवरण (आय–व्यय) सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र सकारात्मक सोचका साथ थालनी गरिएका सामाजिक कार्यहरू सफल हुने उदाहरण प्रस्तुत भएको प्रतिक्रिया दिएका छन्।
उल्लेखनीय छ कि सिराहा समाजसेबा आमजन्ता नेपालले विगत ४ वर्षदेखि अति विपन्न, दिनदुखी तथा असहाय परिवारहरूलाई लक्षित गरी विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।














Discussion about this post