![]()
महेश सिंह लहान, सिरहा – साना किसानको समृद्ध कृषि रूपान्तरण र उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ साना किसान कृषि सहकारी संस्था लिमिटेड, लहान नगरपालिका–११ पडरियाको २१औँ वार्षिक साधारणसभा बुधबार लहानस्थित मारवाडी सेवा सदनमा सम्पन्न भएको छ।
साधारणसभाको प्रमुख अतिथि मधेस प्रदेश सभाका मुख राम आशिष यादव रहनुभएको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य त्यागी नेता राजेन्द्रप्रसाद चौधरी तथा पूर्व लहान नगरपालिकाका उप–प्रमुख सरियार चौधरी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले “पैसा कमाउनु मात्र ठूलो कुरा होइन, बचत गर्नु अझ ठूलो महत्व राख्छ” भन्दै बचत संस्कारले भविष्यका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीमार्फत बचत र लगानीलाई प्राथमिकता दिनु आवश्यक रहेकोमा जोड दिनुभयो।
सहकारीको व्यवस्थापन पक्षबारे जानकारी दिँदै प्रबन्धक उपेन्द्र साहले सहकारी लहान नगरपालिका–११ पडरियामा अवस्थित रहेको र हाल लहान नगरपालिकाका ५ वटा वडामा सेवा विस्तार गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार सहकारीमा हाल ८ सय शेयर सदस्य रहेका छन्। सहकारीको चालु पूँजी १ करोड ९५ लाख ७८ हजार रुपैयाँ, जम्मा बचत ९ करोड २५ लाख ३० हजार रुपैयाँ, कृषकमा लगानी २३ करोड २५ लाख ५३ हजार रुपैयाँ रहेको छ। यस्तै, ६९ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको सहकारीले ३ करोड ४३ लाख २१ हजार रुपैयाँ ब्याज संकलन गरेको छ भने ५६६ जना ऋणी सदस्य रहेका छन्।
साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। सहभागीहरूले सहकारीले साना तथा सीमान्त किसानको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
कार्यक्रमको अन्त्यमा सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र कृषक–मैत्री बनाउँदै सेवा क्षेत्र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।












Discussion about this post