![]()
महेश सिंह लहान – सप्तरीको सम्भुनाथ नगरपालिका वडा नम्बर ९ बसवलपुरमा १४ औँ माघी महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष निरन्तर रूपमा आयोजना हुँदै आएको माघी महोत्सव यस वर्ष माघ १ र २ गते दुई दिनसम्म थारु संस्कृति, भाषा, पहिरन तथा परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
थारु कल्याणकारी सभाको नगर सभापति मनोज चौधरीको अध्यक्षतामा सुरु भएको महोत्सवको प्रमुख अतिथि मधेस प्रदेश सरकारका अर्थ मन्त्री महेश यादव रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थारु कल्याणकारी सभाका नगर सदस्य श्रवणकुमार चौधरीले जानकारी दिनु भयो।
महोत्सवमा स्थानीय कलाकार सबनम चौधरी र सुरज चौधरीको सांस्कृतिक टोलीसहित मोरङ जिल्लाकी सुजिता माझीको सांस्कृतिक टोलीले थारु लोकनृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा वडा नम्बर ९ का प्रभु मलाह तथा थारु कल्याणकारी सभाका क्षेत्रीय अध्यक्ष सिमृतलाल चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो। महोत्सवका अध्यक्ष मनोज चौधरीले आधुनिकताको नाममा लोपोन्मुख बन्दै गएको थारु भाषा, पहिरन, संस्कृति र जातीय पहिचानको संरक्षण, समावेशी समानुपातिक सहभागिता तथा धर्म–संस्कृतिको संरक्षण र संवर्द्धनका लागि माघी महोत्सव आयोजना गरिएको स्पष्ट पार्नु भयो।
प्रमुख अतिथि मन्त्री महेश यादवले थारु भाषालाई औपचारिक भाषाको मान्यता दिनुपर्नेमा जोड दिँदै महोत्सवजस्ता कार्यक्रमले मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो। साथै, उहाँले हुलाकी सडक र राजमार्गसँग जोडिएका पछाडि परेका सडकहरूको निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा वक्ताहरूले विकासका दृष्टिले पछाडि परेको सम्भुनाथ नगरपालिका अन्तर्गत बसवलपुर क्षेत्रको समग्र विकासका लागि राज्यले आफ्नो दायित्व बुझ्न आवश्यक रहेकोमा जोड दिएका थिए। स्थानीयस्तरबाट आयोजना गरिएको यो माघी महोत्सवलाई सहभागीहरूले संस्कृति संरक्षणको दृष्टिले सराहनीय पहलका रूपमा मूल्यांकन गरेका छन्।













Discussion about this post