![]()
महेश सिंह लहान सिरहा- सप्तरीको बलान–बिहुल गाउँपालिकामा कृषकको पोषणस्तर सुधार, आयआर्जन वृद्धि तथा जलवायु अनुकूल कृषि अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने तालिम सम्पन्न भएको छ। पुष १४ गतेदेखि १७ गतेसम्म गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको सभाहलमा सञ्चालन गरिएको तालिममा पालिकाभरिका २७ वटा कृषक समूहका अगुवा कृषकहरूको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमा एकीकृत पोषण बगैंचा स्थापना गरी रसायनमुक्त उत्पादन बढाउँदै सिमान्तकृत, भूमिहीन तथा विपन्न समुदायको पोषणस्तरमा सुधार ल्याउनु रहेको आयोजकले जनाएको छ। तालिममा पोषण बगैंचा निर्माण, माटो परीक्षणको महत्व, नर्सरी व्यवस्थापन, सोलाराइजेसनमार्फत माटो शुद्धिकरण, सामूहिक खेतीबाट आयआर्जन बढाउने उपाय, बजार व्यवस्थापन तथा मूल्य शृङ्खला र फार्म–टु–मार्केट अवधारणाबारे सहजीकरण गरिएको थियो।
सागसब्जी र अन्न उत्पादनमा मात्र सीमित नरही प्रशोधित वस्तु तयार गरी बजारीकरण गर्दा थप आम्दानी गर्न सकिने विषयमा पनि कृषकलाई जानकारी दिइएको थियो। रासायनिक मल तथा विषादीको विकल्पका रूपमा एकीकृत शत्रुजीव व्यवस्थापन र जैविक विधिबाट रोग नियन्त्रण गर्ने उपायबारे समेत प्रशिक्षण दिइएको थियो।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि अपनाउनुपर्ने जलवायु मैत्री कृषि अभ्यास तथा प्रविधिबारे तालिममा विस्तृत छलफल गरिएको थियो। मधेस विश्वविद्यालयका प्रो.डा. जङजित कृतीकर र प्रो.अबिनाश कुमार यादवले पोषण बगैंचामा एकीकृत शत्रुजिब ब्यवस्थापन गर्ने उपाय, बजार र बजारी करणगर्दा कृषक समुहलाई बढी आम्दानी तथा मुल्य शृङ्खलामा आधारित ज्ञान तथा सिपहरु विषयमा प्रशिक्षण दिएका थिए।
गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव द्वारा तालिममा सहभागी २७ जना अगुवा कृषकलाई १० प्रकारका तरकारी बीउ तथा कृषि सामग्री वितरण गरिएको थियो। राष्ट्रिय कृषक समूह महासंघ नेपालमार्फत प्रदान गरिएका सामग्रीमा काक्रो, लौका, धिरौला, करेला ,भिण्डी, लट्टे साग, गाजर, प्याजको बीउ, नीम तेल र पहेँलो स्टिकी ट्र्याप समावेश छन्।
तालिम समापनका अवसरमा बलान–बिहुल गाउँपालिकाका प्रमुखले सहभागी कृषकलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवको समेत उपस्थिति रहेको थियो। साथै,तालीममा उत्कृष्ट प्रशिक्षण गरेको कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पंडितलाई प्रसंसा -पत्र तथा तालीमको ब्यवस्थापन राम्रो गरेको भन्दै राष्ट्रिय कृषक समुह महासंघ नेपालमा बलान बिहुलमा कार्यरत नबिन कुमार तिवारीलाई प्रशंसा-पत्र पालिकाले प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार तालिमबाट सिकाइएका ज्ञान र अभ्यास कार्यान्वयन हुन सके कृषकको उत्पादन, पोषणस्तर र आर्थिक अवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।













Discussion about this post