![]()
महेश सिंह लहान सिरहा – गोलबजारकी कक्षा ९ मा अध्ययनरत किशोरी अनिसा कुमारी मलिक भन्छिन्, “मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ।” उनका अनुसार समाजका हजारौँ किशोर–किशोरीका लागि मुक्ति नेपाल आशाको सहारा बनेको छ। विद्यालय जीवनमै विभिन्न सामाजिक चुनौती सामना गरेका किशोरीहरूका लागि संस्थाले संरक्षण, परामर्श र आत्मबल दिएको उनी बताउँछिन्।
गोलबजार नगरपालिका–८ डन्डाकी नन्दिनी कुमारी यादवले समाजमा घट्ने धेरै घटनाहरू अझै दबिएर बसेको बताइन्। “त्यस्ता घटनामा पीडितले बोल्न सक्दैनन्, त्यही ठाउँमा मुक्ति नेपालले असहायको सहारा बनेको छ,” उनले भनिन्। सहभागीहरूले स्थानीय तहले पूरा गर्नुपर्ने कतिपय सामाजिक जिम्मेवारीमा कमजोरी देखिएकोसमेत औँल्याए।
कार्यक्रममा सहभागीहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो गरे। नगरपालिकाले रोजगारी, सीपमूलक तालिम र जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो। सहभागीहरूका अनुसार दीर्घकालीन समाधानका लागि संस्थागत सहकार्य आवश्यक छ।
मुक्ति नेपालले महिलाहरूलाई सशक्त बनाउँदै आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको आयोजकले जनाएको छ। संस्थाले पछिल्लो एक वर्षमा करिब २ करोड रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरेको विवरण सार्वजनिक गरियो। यसले शिक्षा, महिला अधिकार, किशोरी संरक्षण र जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको बताइएको छ।
मुक्ति नेपालले आफ्नो १५औँ वार्षिकोत्सव तथा सामाजिक लेखाजोखा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माननीय जीवछी यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए भने गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ, नरहा गाउँपालिकाका उपप्रमुख, वडा अध्यक्षहरू, सरोकारवाला निकाय, महिला, युवा, किशोरी समूह, बाल क्लब सदस्य तथा सञ्चारकर्मी गरी करिब १५० जनाको सक्रिय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।














Discussion about this post