![]()
महेश सिंह लहान सिरहा – लहान नगरपालिका–५ अन्तर्गत बलुवा टोलकी समुन्द्री देवी पासवान आगलागीमा घर र परिवार दुवै गुमाएपछि गम्भीर मानवीय संकटमा परिन्। केही दिनअघि भएको आगलागीमा उनको घर पूर्ण रूपमा नष्ट हुँदा उनका ज्वाइँको समेत ज्यान गएको थियो।
पीडित परिवारले घटनापछि स्थानीय सरकारसँग पटक–पटक सहयोगको आग्रह गरे पनि तत्काल कुनै ठोस राहत नपाएको स्थानीयहरू बताउँछन्। मानसिक, सामाजिक र आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा पुगेकी समुन्द्री देवीका लागि स्थानीय तहबाट अपेक्षित सहयोग नआएपछि अन्ततः नागरिकस्तरबाट मानवीय पहल अघि बढाइएको हो।
लहानका पूर्व मेयर मुनि शाहको अगुवाईमा स्थानीय मुस्लिम वेल्फेयर सोसाइटीका अध्यक्ष इसराइल सिद्दिकी तथा युवाहरूको सक्रिय सहभागितामा पीडित परिवारका लागि नयाँ घर निर्माण कार्य सुरु गरिएको छ। अभियानको उद्देश्य पीडितलाई कम्तीमा सुरक्षित रूपमा बस्न सक्ने छानो उपलब्ध गराउनु रहेको आयोजकहरूले बताएका छन्।
यस पहललाई स्थानीयवासीहरूले आपसी सहानुभूति, सामाजिक एकता र मानवीय उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्। “राज्यले ढिला गर्दा नागरिक आफैँ अघि सरेका छन्,” एक स्थानीय युवाले भने, “तर यस्तो जिम्मेवारी राज्यकै हुनुपर्छ।”
घटनाले आपतकालीन अवस्थामा पीडित नागरिकलाई तत्काल राहत, पुनर्स्थापना र मनोसामाजिक सहयोग उपलब्ध गराउन स्थानीय सरकार कति सक्षम छ भन्ने प्रश्नसमेत उठाएको छ। नागरिकस्तरको यो पहलले एकातिर मानवीय संवेदना उजागर गरेको छ भने अर्कोतिर विपद् व्यवस्थापनमा राज्यको भूमिकामाथि पुनः बहस जन्माएको छ।
स्थानीय समुदायले पीडित परिवारका लागि सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायलाई तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा गम्भीर बन्न आग्रह गरेका छन्।













Discussion about this post