![]()
महेश सिंह लहान सिरहा— लहान नगरपालिका–३, अस्पताल चौकस्थित शान्ति लज नजिक देब नारायण महतोको निजी जग्गामा निर्माण गरिएको घर नगरपालिकाले भत्काएपछि स्थानीयस्तरमा विवाद उत्पन्न भएको छ। पीडित महतोका अनुसार करिब पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको घर बिना वैकल्पिक व्यवस्था भत्काइँदा आफू गम्भीर रूपमा चिन्तित र पीडित बनेको बताएका छन्।
नगरपालिकाले उक्त घर सडक विस्तार तथा चाइना कम्पनीको मापदण्डअनुसार करिब पाँच फिटभित्र परेको भन्दै भत्काएको जनाइएको छ। घर भत्काइने क्रममा देब नारायण महतो भावुक बनेका थिए भने घटनाले स्थानीयवासीको ध्यान तानेको छ।
वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतोले भने आफूले पटक–पटक मापदण्डविपरीत निर्माण नगर्न आग्रह गरे पनि अटेर भएपछि नगरपालिकालाई जानकारी गराएको स्पष्ट पारे। “मसँग देब नारायण महतोप्रति कुनै व्यक्तिगत वा राजनीतिक पूर्वाग्रह छैन,” उनले भने, “वडामा भएका गतिविधि नगरपालिकालाई जानकारी गराउनु मेरो कर्तव्य हो। म वडाको पहरेदार हुँ।”
वडा अध्यक्ष महतोका अनुसार नगरपालिकाले आफ्नै निर्णय र कानुनी प्रक्रियाअनुसार संरचना भत्काएको हो। नगरपालिकाले राजनीतिक दबदबा देखाउँदै पूर्वाग्राही ढंगले काम गरेको भन्ने आरोपलाई भने उनले अस्वीकार गरे।
यता स्थानीय नागरिकहरूले भने संविधानले प्रत्याभूत गरेको गास, बास र कपास मौलिक हकअन्तर्गत पर्ने भन्दै घर भत्काउनु अघि वैकल्पिक व्यवस्था र मानवीय संवेदनशीलता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
नेपालको संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै नगरपालिकाले यस्ता कार्यमा थप जिम्मेवार बन्नुपर्ने उनीहरूको माग छ।
घटनाले लहान नगरपालिकामा संरचना भत्काउने क्रममा अपनाइने प्रक्रिया, मानवीय पक्ष र स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठाएको छ। स्थानीयवासीहरूले यस्ता कार्य निरन्तर भइरहेको आरोप लगाउँदै आगामी दिनमा पारदर्शी र संवेदनशील निर्णयको अपेक्षा गरेका छन्।











Discussion about this post