![]()
महेश सिंह लहान- आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। क्षेत्रीय भेलाबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका सम्भावित उम्मेदवारहरूको नाम जिल्ला समितिमा सिफारिस गरिएको छ।
क्षेत्रीय भेला संयोजक दिपिनदेव यादवको संयोजकत्वमा सम्पन्न बैठकले प्रत्यक्ष तर्फबाट पाँच जना नेताको नाम सिफारिस गरेको छ। प्रत्यक्ष तर्फ सिफारिस हुनेमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, नेता सुशील साह र कमलदेव मण्डल रहेका छन्।
त्यसैगरी समानुपातिक तर्फबाट नौ जना नेताको नाम सिफारिस गरिएको छ। समानुपातिक सूचीमा मो. अब्दुल वारिक शेख, जयनारायण पासवान, कृष्ण कुमार भण्डारी, त्रिलोक महतो (श्रवण कुमार महतो), रामो महरा, समिमा खातुन, पुष्पा यादव, उदय चन्द्र मिश्र र सीता मण्डल रहेका छन्।
पार्टी स्रोतका अनुसार क्षेत्रीय भेलाबाट विभिन्न तह र पृष्ठभूमिका नेताहरूलाई सिफारिस गर्दै समावेशी सन्तुलन कायम गर्ने प्रयास गरिएको छ। यसलाई पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी चुनावी रणनीतिको संकेतका रूपमा हेरिएको छ।
भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, निर्वाचित जनप्रतिनिधि, भातृ संगठनका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले संगठन सुदृढीकरण, मतदाता केन्द्रित अभियान र एकताबद्ध रूपमा निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका थिए।
जिल्ला समितिमा सिफारिस भएका नामहरू अब पार्टीको केन्द्रीय निर्णय प्रक्रियाबाट अन्तिम रूप पाउनेछन्। त्यसपछि मात्रै धनुषा–२ मा जसपा नेपालको आधिकारिक उम्मेदवार टुंगो लाग्नेछ।
राजनीतिक विश्लेषकहरूका अनुसार धनुषा–२ मा विभिन्न तहका प्रभावशाली नेताहरूको नाम सिफारिस हुनु पार्टीको आन्तरिक प्रतिस्पर्धा र निर्वाचनको महत्त्व दुवै संकेत गर्ने विषय हो।














Discussion about this post