![]()
महेश सिंह सिरहा लहान –लहान नगरपालिका–१८ मा विगतदेखि सञ्चालनमा रहेको अवैध क्रसर उद्योगका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको भन्दै संयुक्त दलित संघर्ष समिति, लहान सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामा ध्यानाकर्षण पत्र बुझाएको छ। दलित समुदायसहित स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिमा समितिका उपाध्यक्ष मोहन रामलगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्याललाई ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा क्रसर उद्योगले आधारभूत विद्यालयको पठनपाठनमा गम्भीर असर पुर्याएको, २४ सै घण्टा क्रसर र टिपर सञ्चालन हुँदा धुलो, ध्वनि प्रदूषण र सडक सुरक्षामा जोखिम बढेको उल्लेख छ। यस विषयमा यसअघि नै सम्बन्धित निकायमा उजुरी दिँदा पनि कुनै ठोस पहल नभएको समितिको भनाइ छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आर्यालले क्रसर उद्योग कानुनअनुसार दर्ता र सञ्चालनमा छ कि छैन भन्ने विषयमा छिट्टै अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताएका छन्। “कानुनसम्मत रूपमा सञ्चालन भइरहेको छ भने चल्न पाउँछ, यदि कानुनविपरीत भेटिए बन्द गरेर कानुनी प्रक्रिया अघि बढाइन्छ,” उनले संघर्ष समितिलाई आश्वासन दिए।
संयुक्त दलित संघर्ष समितिका अनुसार क्रसर उद्योग सञ्चालकबाट स्थानीय बासिन्दामाथि धम्की र त्रास देखाउने काम भइरहेको छ। समितिले इलाका प्रहरी कार्यालय लहानका डीएसपीलाई पटक–पटक जानकारी गराउँदा पनि प्रहरी नपठाइएको गुनासो गरेको छ।
छलफलका क्रममा समितिले यदि अवैध क्रसर उद्योग बन्द नगरे कडा र सशक्त आन्दोलन थालिने चेतावनी दिएको छ। साथै प्रहरी प्रशासनले हटाउन नसके आफूहरू बाध्य भएर आन्दोलनमार्फत क्रसर हटाउने अवस्था आउन सक्ने भन्दै त्यसबाट उत्पन्न हुने कुनै पनि क्षतिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने स्पष्ट पारेको छ।
संयुक्त दलित संघर्ष समितिले राज्य संयन्त्रले स्थानीय जनताको जीवन, स्वास्थ्य र बालबालिकाको शिक्षालाई गम्भीर रूपमा नलिए आन्दोलनलाई चरणबद्ध रूपमा विस्तार गर्ने जनाएको छ।














Discussion about this post