![]()
महेश सिंह सिरहा,लहान-घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको लहान नगरपालिका वडा नम्बर ११, पडरियाका बलराम कामैत दुई वर्षअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको बायाँ हात पूर्ण रूपमा फ्र्याक्चर भई शल्यक्रिया आवश्यक भए पनि उपचार खर्च करिब पाँच लाख रुपैयाँ लाग्ने भएपछि उनी हालसम्म उपचार गराउन असमर्थ रहेका छन्।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका कामैतले सहयोगी हातहरूको अपेक्षा गरिरहेका बेला लहान नगरपालिका वडा नम्बर ७ का समाजसेवी तथा नेपाली कम्युनिस्ट पार्टीका नेता विजय गुप्ताले मानवीय उदाहरण प्रस्तुत गरेका छन्। गुप्ताले शनिबार आफ्नो जन्मदिन होटलमा केक काटेर मनाउनुको सट्टा एक विपन्न र पीडित नागरिकलाई सहयोग गर्दै मनाएका हुन्।
गुप्ताले बलराम कामैतको उपचारका लागि अनलाइन माध्यमबाट ३ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले जन्मदिन जस्ता अवसरहरू आत्मप्रदर्शनभन्दा पनि समाजका दुःखी, गरिब, दलित र विपन्न वर्गको सेवामा समर्पित गर्नुपर्ने धारणा व्यक्त गरे।
स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूले विजय गुप्ताजस्ता सामाजिक सोच भएका युवाहरूलाई राजनीतिमा अवसर दिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलिने र राजनीतिको छवि समेत सुधार हुने विश्वास व्यक्त गरेका छन्।
पीडित बलराम कामैतले सहयोगप्रति आभार व्यक्त गर्दै थप सहयोग प्राप्त भएमा उपचार सम्भव हुने आशा व्यक्त गरेका छन्।














Discussion about this post