![]()
महेश सिंह सिरहा-सिरहामा सार्वजनिक तथा निजी समारोहमा जथाभावी बजाइने उच्च आवाजका ‘डिजे’ साउण्ड नियन्त्रण गर्न प्रशासन सक्रिय भएको छ। ध्वनि प्रदूषणका कारण नागरिकको स्वास्थ्य र शान्त वातावरणमा असर पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय र अदालतको निर्देशनमा अनुगमन तथा नियन्त्रण अभियान तीव्र बनाइएको हो।
पछिल्लो समय विवाह, पूजा, जात्रा तथा अन्य सामाजिक कार्यक्रममा निर्धारित मापदण्डभन्दा बढी आवाजमा डिजे बजाइँदा सर्वसाधारणलाई समस्या हुन थालेको गुनासो बढ्दै आएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू उच्च आवाजबाट बढी प्रभावित हुने गरेको स्थानीयहरूको भनाइ छ।
जिल्ला अदालत सिरहाले ध्वनि प्रदूषणले नागरिकको शान्त वातावरणमा बस्न पाउने अधिकार हनन गरेको ठहर गर्दै डिजे साउण्ड नियन्त्रणका लागि कडाइ गर्न प्रशासनलाई निर्देशन दिएको छ। सोही निर्देशनअनुसार अनुमति बिना तथा तोकिएको समय र आवाजको सीमा नाघेर डिजे बजाउनेमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार निरन्तर ८५ डेसिबलभन्दा बढी आवाज मानव श्रवण क्षमताका लागि हानिकारक हुन्छ। तर सिरहाका कतिपय स्थानमा डिजे साउण्डको आवाज १०० डेसिबलभन्दा बढी मापन भएको छ, जसले श्रवण शक्ति कमजोर हुने, मानसिक तनाव बढ्ने र निद्रामा समस्या आउने जोखिम बढाएको छ।
विद्यालय सञ्चालक र अभिभावकहरूले परीक्षाका समयमा डिजे साउण्डका कारण पठनपाठन प्रभावित भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार विद्यार्थीहरूको ध्यान केन्द्रित गर्ने क्षमता घट्दै गएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम मर्यादित रूपमा सञ्चालन गर्न र ध्वनि मापदण्ड पालना गर्न आग्रह गरेको छ। उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने प्रशासनको चेतावनी छ।














Discussion about this post