![]()
महेश सिंह लहान सिरहा – टोली मात्र होइनौँ हामी— जोश, अनुशासन र दृढ संकल्पले बाँधिएको एउटा परिवार हौँ। जित होस् या हार, हामी सधैँ एक–अर्कासँगै उभिन्छौँ। यही मूल मन्त्रलाई व्यवहारमा उतार्दै सिरहाको लहान नगरपालिका–३ स्थित प्यारागन स्कुलले शिक्षा सँगै खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको छ।
प्यारागन स्कुलका प्रधानाध्यापक उमेश चौधरीका अनुसार विद्यालयले विद्यार्थीको शैक्षिक प्रगतिको मात्र होइन, शारीरिक, मानसिक र अनुशासनात्मक विकासलाई पनि समान महत्व दिँदै आएको छ। “देशमा राष्ट्रिय स्तरका खेलाडीको अभाव देखिँदै गएको सन्दर्भमा विद्यालय तहबाटै प्रतिभा पहिचान र उत्पादनमा लाग्नु आवश्यक छ,” उनले बताए, “त्यसैले हामीले पढाइसँगै खेलाडी उत्पादनलाई विशेष जोड दिएका हौँ।”
विद्यालयले फुटबल, क्रिकेट, भलिबल लगायतका खेलकुदमा नियमित अभ्यास, प्रशिक्षकको व्यवस्था तथा आन्तरिक प्रतियोगितामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउँदै आएको छ। खेलकुदमार्फत अनुशासन, टीमवर्क, नेतृत्व र आत्मविश्वास विकास हुने भएकाले यसले विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा सहयोग पुग्ने विद्यालयको विश्वास छ।
प्रधानाध्यापक चौधरीका अनुसार खेलकुदमा सक्रिय विद्यार्थीहरूको पढाइमा पनि सकारात्मक प्रभाव देखिएको छ। “खेलले विद्यार्थीलाई जिम्मेवार र लक्ष्यप्रति केन्द्रित बनाउँछ,” उनले भने, “हामी राम्रो विद्यार्थी मात्र होइन, असल खेलाडी र जिम्मेवार नागरिक उत्पादन गर्न चाहन्छौँ।”
विद्यालयले आगामी दिनमा आधुनिक खेलमैदान,अतिरिक्त प्रशिक्षक र अन्तरविद्यालयस्तरीय प्रतियोगितामा सहभागिता बढाउने योजना बनाएको जनाएको छ। स्थानीय अभिभावकहरूले पनि प्यारागन स्कुलको यस पहलले बालबालिकाको प्रतिभा उजागर गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
शिक्षा र खेलकुदलाई समान रूपमा अघि बढाउँदै प्यारागन स्कुलले लहान क्षेत्रबाटै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आफ्नो अभियानलाई निरन्तरता दिएको छ।











Discussion about this post