![]()
महेश सिंह लहान –सखुवान्नकारकट्टी गाउँपालिकामा युवा नेतृत्वमा आधारित ५१ सदस्यीय जेनजी (जननैतिक जागरण) समिति गठन गरिएको छ।
समिति मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आयोजित भेलाबाट गठन गरिएको हो। समितिको संयोजकमा अरुण कुमार यादव चयन भएका छन्। पाँचै वडाका युवाहरूलाई समेटेर समिति बनाइएको समितिका सल्लाहकार उमेश कुमार यादवले जानकारी दिए।
समितिको उद्देश्य देशमा बढ्दो अराजकता, भ्रष्टाचार र कमीशन संस्कृतिलाई अन्त्य गरी स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्नु रहेको संयोजक यादवले बताए। उनले भने, “पहिलो प्राथमिकता गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक सुधार र उत्तरदायित्वयुक्त प्रशासन निर्माण हो।”
यादवका अनुसार समितिले पालिकामा भइरहेको अनियमितता र गैरजिम्मेवार कार्यशैलीविरुद्ध निगरानी बढाउनेछ। उनले चेतावनी दिँदै भने, “जो कसैले अराजकता फैलाउने वा भ्रष्टाचारमा संलग्न हुने गर्छ, कसैलाई पनि बक्सिने छैन।”
कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार रहमुल राईनले जेनजीको उत्पत्ति, उद्देश्य र कार्यदिशाबारे प्रकाश पारेका थिए। उनले वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाले जेनजीजस्ता नागरिक सचेतना समूहहरूको आवश्यकता अझ तीव्र भएको बताए।कार्यक्रममा छिमेकी गाउँपालिका भगवानपुर र नवराजपुरका जेनजी अगुवाहरूको समेत उपस्थिति रहेको थियो।














Discussion about this post