बिष्णु खड्का सोलुखुम्बु रामेछाप – सिंहदरबारका सिंह गाउँमा आए तर अधिकार आएन भन्नेलाई रामेछापको उमाकुण्ड गाउँपालिकाले सिंह दरबारको अधिकार गाउँमा नै पुर्याएर जवाफ दिएको छ ।
सो गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सबै सरकारी सेवा वडा वडामा पुर्याउने अभियान सुरु गरेको छ । एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।
सुनुवारका अनुसार वडा स्तरमा नै नेपाली नागरिकताको प्रमाणपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य परीक्षण लगायतका काम समेत गरिएको छ । गाउँपालिकाको वडा नं ७ भूजीबाट सुरु गरिएको अभियान प्रत्येक वडाको केन्द्रमा सञ्चालन हुने छ । सो अभियान अन्तर्गत जिल्लाकै सबैभन्दा दुर्गम गुम्देलका बासिन्दाले समेत वडाबाटै नेपाली नागरिकताको प्रमाणपत्र बनाउने सहितका सरकारी सेवा प्राप्त गर्ने छन् ।
अभियानको पहिलो दिन वडा नं ७ भूजीमा २२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन् । सात जनाले ख वर्गको अपाङ्गता परिचयपत्र बनाएका छन् । त्यस्तै दुई जनाले ग वर्गको सो परिचयपत्र बनाएका छन् । ११ जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन् । त्यस्तै २५ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको छ ।
सोही शिविरमा १२ वटा योजना सम्झौता भएको छ । १३ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । तीन वटा व्यवसाय नवीकरण गरिएको छ । ११ वटा इजाजत पत्र पनि सो शिविरमा प्रदान गरिएको छ ।
नागरिकले गाउँमा नै सेवा पाउन् भनि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो । गाउँपालिकाबाट जिल्ला सदरमुकामसम्म पुग्न ठुलो खर्च लाग्ने र वडाबाट गाउँपालिकाको केन्द्रसम्म पुग्न समेत भौगोलिक विकटताको कारण धेरै समय र खर्च लाग्ने भएकोले सर्वसाधारणलाई वडामा नै गएर सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो । घुम्ती शिविर नियमित रूपमा सञ्चालन गरेर नागरिकलाई गाउँ गाउँमा नै सेवा दिने पनि उहाँले जानकारी दिनुभयो ।
Discussion about this post