![]()
महेश सिंह सिरहा- लायन्स क्लब अफ लहान फुलबारीले सिराहाको लहान नगरपालिका–२१ स्थित भवानीपुर कालाबंजरमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा ३३८ जनाले विशेषज्ञ चिकित्सकहरूमार्फत स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य परीक्षण गराएकामध्ये ११० जना पुरुष र २२८ जना महिला रहेका थिए। शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, छाला तथा यौन रोग र सामान्य रोग सम्बन्धी परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो।
शिविर क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताको अध्यक्षता र वडा नं. २१ का वडा अध्यक्ष राजकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकमा डा. ओमप्रकाश चौधरी (हाडजोर्नी तथा नशा रोग), डा. गीता यादव (स्त्री तथा प्रसूति), डा. प्रमोद कुमार दास (छाला तथा यौन रोग) र डा. लवकुमार यादव (सामान्य रोग विशेषज्ञ) रहेका थिए।
शिविर स्वस्तिक लघुवित्त तथा वित्तीय संस्था लिमिटेडको सौजन्य, ओम पोलिक्लिनिक तथा अर्थो केयर सेन्टर, लहान नगरपालिका–२१ र लायन्स क्लबको सहकार्यमा सञ्चालन गरिएको थियो।
शिविरमा क्लबका चार्टर प्रेसिडेन्ट राकेश झा, तृतीय उपाध्यक्ष मनिष सारडा, वडा सदस्य पल्टु साह र मनोज साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समाजसेवी रुपेश पासवान, सत्यनारायण दास लगायतको उपस्थिति रहेको थियो। क्लबले आगामी दिनमा पनि यस्ता सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।














Discussion about this post