महेश सिंह लहान, सिरहा –सिरहाको लहान नगरपालिकाभित्रका गाउँ ब्लक जग्गा सम्बन्धी समस्याबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समाधान नआएको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
लहान नगरपालिकाका १ देखि २४ नम्बर वडासम्म रहेका गाउँ ब्लक जग्गा वर्षौंदेखि रोक्का अवस्थामा छन्। केही वडामा लालपुर्जा वितरण भए पनि अझै कतिपय ठाउँमा नापी तथा पट्टा दिने प्रक्रिया बाँकी छ। यस विषयमा पटक–पटक माग राखे पनि सम्बोधन नभएपछि गाउँ ब्लक नगर संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरिएको हो।
संघर्ष समितिले गत माघ १३ गते बोदार्थ नापी शाखा, इलाका प्रशासन कार्यालय र लहान नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र समस्या समाधान गर्न आग्रह गरेको थियो। तर, कुनै प्रतिक्रिया नआएपछि समितिले माघ २१ गते बसेको बैठकमार्फत चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
चरणबद्ध आन्दोलनको कार्यक्रम
माघ २७ गते – साँझ ६:०० बजे मसाल जुलुस (लहान बजार)
माघ २८ गते – बिहान ११:३० बजे खबरदारी सभा (दुर्गा मन्दिर, पशुपति मा.वि.)
माघ २९ गते – बिहान ९:०० बजे धर्ना कार्यक्रम (मालपोत कार्यालय)
संघर्ष समितिका संयोजक अरुण के.सी. ले स्थानीय समस्या समाधान गर्न प्रशासन गम्भीर नभएको आरोप लगाउँदै आन्दोलन शान्तिपूर्ण हुने तर माग पूरा नभए थप कडा कदम चाल्ने चेतावनी दिए।
Discussion about this post