लहान, सिरहा — लहान वडा नं. ७ मा मङ्गलबारदेखि श्री १०८ श्रीमद्भगवत महापुराण ज्ञान यज्ञकथा सुरु भएको छ। बाबा श्री शिवांश महाराज काशी बनारसबाट कथा वाचन गर्दैछन्। कथा वाचनसँगै झाँकी लिला प्रदर्शनले कार्यक्रमलाई थप भव्यता दिएको छ।
आयोजनामा सम्पूर्ण सनातनी हिन्दू परिवार र विभिन्न संस्थाको सक्रिय सहभागिता रहेको छ। कार्यक्रमको सहआयोजक विश्व हिन्दू परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहा रहेको छ। परिषदका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद यादवले कार्यक्रमको उद्देश्य धार्मिक र सांस्कृतिक चेतना फैलाउनु रहेको बताए।
कार्यक्रम संयोजक विश्व हिन्दू परिषद् नेपाल, सिरहाका कोषाध्यक्ष प्रियम रञ्जन उपाध्यायले यस यज्ञले समाजमा धार्मिक एकता र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने बताए। जिल्ला सचिव डा. शिवदेव साहले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेका छन्।
कार्यक्रम मङ्गलबारदेखि सुरु भई पौष १ गते सोमबार समापन हुने छ। उद्घाटन दिन झण्डै ६ सय श्रद्धालुको सहभागितामा भव्य कलश शोभायात्रा निकालिएको थियो।
कार्यक्रममा लहानका मारवाडी समुदायका अगुवा प्रदीप गुप्ता र पवन मुन्द्राको उपस्थिति रहेको थियो। प्रमुख अतिथि सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राम शंकर यादवले कार्यक्रममा सहभागी हुँदै धर्म र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “नयाँ पुस्ताले धर्म र संस्कृतिमा ध्यान दिन छोड्दैछ। यसलाई जोगाउन हरेकको जिम्मेवारी आवश्यक छ।”
धार्मिक कथा र झाँकी प्रदर्शनले लहान क्षेत्रलाई धार्मिक उत्सवमय बनाएको छ। कार्यक्रमलाई स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न धार्मिक संस्थाले समर्थन गरेका छन्।
Discussion about this post