![]()
महेश सिंह लहान सिरहा- सिरहाको लहान नगरपालिका वडा नम्बर १४ स्थित बस्तीपुरमा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा आगामी चुनावी रणनीति सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीका क्षेत्र नम्बर १ का सर्वसहमत प्रतिनिधि सभा उम्मेदवार तथा पूर्व मन्त्री रामचन्द्र यादवको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी निर्वाचनलाई लक्षित रणनीतिबारे छलफल गरिएको लहान नगर अध्यक्ष विनोद साहले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यकर्ताबीच एकता, अनुशासन र सक्रियता बढाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
सो अवसरमा पार्टीबाट निर्वाचित वडा अध्यक्ष तथा बौद्धिक नेता धनीलाल यादवको विशेष उपस्थिति रहेको थियो। साथै क्षेत्रीय अध्यक्ष चन्द्रनारायण यादव, हेमन्त यादव, रामदयाल यादवलगायतका नेताहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जनमुखी एजेन्डा, विकास निर्माणका मुद्दा र राजनीतिक स्थायित्वलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा पार्टीलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय कार्यकर्ताहरूले समेत पार्टीको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा सक्रिय रूपमा जुट्ने अठोट व्यक्त गरेका छन्।














Discussion about this post