![]()
महेश सिंह लहान सिरहा- गरिब,दलित तथा सीमान्तकृत समुदायको हक–अधिकार स्थापित गर्न सामन्ती प्रवृत्तिविरुद्ध आजीवन संघर्ष गरेका एक प्रतिबद्ध योद्धा,औरही गाउँपालिका–५ निवासी तथा तत्कालीन गाबिसका पूर्व अध्यक्ष बेचन यादवको निधन भएको छ।
उहाँको २०८२ साल मंसिर २१ गते आफ्नै निवासमा निधन भएको हो। वि.सं. २००७ साल चैत १५ गते जन्मिनुभएका यादव लामो समयदेखि अस्वस्थ रहनुभएको थियो। करिब तीन वर्षदेखि पक्षघात (पेरालाइसिस)को समस्याबाट पीडित भई घरमै थलिनुभएका उहाँको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको परिवारजनले बताएका छन्।
२०३९ सालमा गाबिस अध्यक्षमा निर्वाचित यादवले तत्कालीन प्रधान पञ्चको हैसियतमा स्थानीय शासन, विकास र सामाजिक न्यायका सवालमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँ विशेषतः दलित,विपन्न र आवाजविहीन समुदायका लागि निडर रूपमा उभिने नेताका रूपमा चिनिनुहुन्थ्यो।
सामन्ती सोच, विभेद र अन्यायका विरुद्ध खुलेर आवाज उठाउनु उहाँको राजनीतिक जीवनको मूल चरित्र थियो। सीमित स्रोत–साधनका बाबजुद सामाजिक समानता र जनमुखी शासनका लागि निरन्तर संघर्ष गर्नुभएको यादवको योगदानले स्थानीय समाजमा दीर्घकालीन प्रभाव छाडेको जानकारहरू बताउँछन्।
उहाँ संसारबाट विदा भए पनि सामाजिक रूपान्तरणका लागि पुर्याएको योगदान सदा स्मरणीय रहने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। मृतक यादवले श्रीमती, एक छोरा र एक छोरी पछाडि छाडिएका छन्। हिन्दु परम्पराअनुसार यादवको पार्थी शरीरलाई दाहसंस्कार सम्पन्न गरिएको छ।
एक्लो छोरा सन्तोष कुमार यादवले दागबत्ती दिनुभएको हो।
स्वर्गीय यादवका छोरा सन्तोष यादव पछिल्लो करिब दुई दशक देखि देशका मुलधारका संचार मध्यम मिडियाहरुमा काम गर्दै अनुभव बटुलेका हुन्। सिरहाका चर्चित पत्रकार तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उहाँ हाल पितृशोकमा रहनुभएको छ।
बेचन यादवको निधनले स्थानीय समाजले एक इमानदार, निष्ठावान् र सामाजिक न्यायका पक्षधर नेतृत्व गुमाएको भन्दै विभिन्न सामाजिक, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणले गहिरो शोक व्यक्त गरेका छन्।














Discussion about this post