![]()
महेश सिंह लहान- तराई–मधेशका विभिन्न जिल्लामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित बन्दै गएपछि मधेशी आयोगले सरोकारवाला निकायहरूसँग समन्वयात्मक विचार–विमर्श गरेको छ।
शुक्रबार मधेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष जीवछ साहको अध्यक्षतामा आयोजित छलफलमा शीतलहरबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने, जोखिम न्यूनीकरण गर्ने तथा यस समस्याको अल्पकालीन र दीर्घकालीन समाधान पहिचान गर्ने विषयमा केन्द्रित छलफल भएको हो।
छलफलमा गृह मन्त्रालय, सुरक्षा निकायहरू, अन्तर्राष्ट्रिय संघ–संस्थाहरू, नेपाल पत्रकार महासंघलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शीतलहरका कारण विशेषगरी वृद्ध, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदाय बढी प्रभावित हुने भएकाले लक्षित राहत कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यवाहक अध्यक्ष साहले शीतलहरलाई केवल मौसमी समस्या मात्र नभई मानवीय संकटका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै सरकारी निकाय, नागरिक समाज, सञ्चार माध्यम र अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले राहत वितरण, अस्थायी न्यानो आश्रयस्थलको व्यवस्था, स्वास्थ्य सतर्कता तथा दीर्घकालीन पूर्वतयारीका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
छलफलमा सहभागी निकायहरूले आपसी सहकार्य र साझा कार्ययोजनामार्फत शीतलहरबाट उत्पन्न जोखिम न्यूनिकरण तथा नागरिकको जीवन रक्षा गर्न प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














Discussion about this post