जनकपुर । सञ्चारकर्मी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला सदर गरेको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैध र डाल कुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेका हुन् ।
०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालतमा एक हप्तादेखि जारी सुनुवाइले जिल्ला अदालतकै फैसला सदर गरेको उच्च अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार जाहेरीको तर्फबाट उच्च अदालतका सरकारी वकिल कार्यालयबाट सह न्यायाधिवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेम बहादुर कार्की र राज लाल यादवले बहस गरेका थिए ।
यस्तै प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेको थिए । संजय साहका सुटर मनक लामा र रामविनोद यादवलाई तीन वर्ष जेल सजाय सुनाएको थियो । यस्तै एकलाल सहनी, चन्द्रदीप यादव, पवन लामालाई १० वर्ष जेल सजायको फैसला गरेको थियो । सोही फैसला बुधवार उच्च अदालतले सदर गरेको हो । सिंघानियाको ०६६ साल फागुन १७ गते होलीका दिन गोली हानी हत्या भएको थियो ।
हत्या भएको दश वर्षपछि जिल्ला अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको थियो । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टी जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।
Discussion about this post