महेश सिंह लहान सिरहा –नेपाली महिला आन्दोलनको नाम लिनासाथ डा. रेणु अधिकारीको योगदान स्मरण हुन्छ। तीन दशकभन्दा बढी समयदेखि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सक्रिय रहँदै उहाँले महिला नेतृत्व, मानवअधिकार र सामाजिक न्यायलाई केन्द्रमा राखेर निरन्तर काम गर्दै आउनुभएको छ।
महिलाले नेतृत्व गरेका दर्जनौँ स्व–प्रतिनिधि संगठनहरूको संस्थापक डा. अधिकारी नेपालको पहिलो मानव बेचबिखन प्रतिवेदकका रूपमा परिचित हुनुहुन्छ। प्रतिवेदकको कार्यालय स्थापना गरी उहाँले महिलामाथि हुने हिंसा, सुरक्षित गर्भपतन, गर्भाशय खस्ने समस्या जस्ता संवेदनशील मुद्दालाई राष्ट्रिय योजना र नीतिगत तहमा लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो।
प्रधानमन्त्रीको कार्यालयदेखि टोल–बस्तीसम्म नीति निर्माण, क्षमता अभिवृद्धि र प्रशिक्षणलाई जोड्दै उहाँले समुदायस्तरमै परिवर्तन ल्याउने काम गर्नुभयो। अन्तर्राष्ट्रिय स्तरमा समेत सक्रिय रहँदै उहाँले CEDAW, UPR, CSW, CPD, ICPD लगायतका प्रक्रियामा नेपाली महिलाको आवाज बुलन्द गर्नुभएको छ। लैङ्गिक न्याय, आप्रवासी अधिकार, यौन र प्रजनन स्वास्थ्य अधिकार उहाँका प्रमुख वकालतका विषय बनेका छन्।
उहाँको नेतृत्वमा महिलावादी फोरम, शान्ति सभाहरू, महिला न्यायाधिकरण र हिंसाविरुद्धका राष्ट्रिय अभियानहरू सञ्चालन भएका छन्। Our Bodies, Ourselves पुस्तकलाई नेपाली सन्दर्भमा रुपान्तरण गरेर महिलाको स्वास्थ्य र अधिकारबारे सहज जानकारी पुर्याउनु उहाँको अर्को महत्वपूर्ण योगदान हो।
विभिन्न प्रकाशनमार्फत लैङ्गिक समानता, आप्रवासन र प्रजनन अधिकारका मुद्दा उजागर गर्दै आउनुभएका डा. अधिकारीको नेतृत्वले सामाजिक आन्दोलनलाई रूपान्तरणकारी बाटोमा अघि बढाएको छ। महिलाको अनुभव र आवाजलाई न्याय, नीति र सामाजिक रूपान्तरणको केन्द्रमा ल्याउन उहाँको जीवनभरको संकल्प स्पष्ट देखिन्छ।
Discussion about this post