![]()
महेश सिंह लहान –मुक्तिको घोषणाले जीवन फेरिएला भन्ने आशामा बसेका हरवा–चरवा समुदाय फेरि सडकमा छन्। मधेश प्रदेश सरकारले पुनःस्थापना र कार्यविधि बिना ‘मुक्त’ घोषणालाई खोक्रो बनाइरहेको भन्दै तेस्रो हरवा–चरवा मुक्ति दिवसकै दिन उनीहरू जनकपुरधामको सडकमा उत्रिए।
शुक्रबार मुख्यमन्त्री कार्यालयअगाडि गरिएको प्रदर्शनमा सहभागीहरू टायर बाल्दै, नाराबाजी गर्दै र प्लेकार्ड बोकेर आफ्ना माग राख्न प्रस्तुत भए। उनीहरूले सरकारको घोषणालाई केवल ‘प्रतीकात्मक मुक्ति’ भन्दै आलोचना गरे।
उनीहरू अहिले पनि गरिबी, बासस्थान अभाव र सरकारी बेवास्ताको भारी बोकेर बाँचिरहेका छन्।
राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादा भन्छन्, “सरकारले केवल शब्दमा मुक्ति दिएको हो, व्यवहारमा होइन। न पुनःस्थापनाको प्रक्रिया अघि बढेको छ, न जग्गाको व्यवस्था भएको छ।”
उक्त प्रदर्शन फ्रिडम फण्ड, CIC र जनचेतना दलित संगमको सहयोगमा भएको थियो भने नेतृत्व मुक्त हरवा चरवा अधिकार मञ्चले गरेको हो। प्रदर्शनपछि जनकपुरधामका विभिन्न सडकहरूमा निकालिएको र्यालीले सरकारको बेवास्तालाई प्रश्न गर्यो।
२०७९ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हरवा–चरवा प्रथा अन्त्यको घोषणा भए पनि त्यसको व्यवहारिक कार्यान्वयन अझै पनि अधुरो छ।
प्रदर्शनमा सहभागी एक महिलाले भनिन्, “हामीलाई मुक्ति दिनुभएको छ तर बस्न जमिन छैन, काम छैन, बच्चालाई पढाउन पैसा छैन। यसलाई मुक्ति कसरी भन्नु?”
मधेश प्रदेश सरकारले अहिलेसम्म पुनःस्थापनासम्बन्धी स्पष्ट कार्यविधि नल्याएको, राहत प्याकेज नतोकिएको र समुदायलाई सशक्त बनाउन नीति नबनाएको विरोधकर्ताहरूको गुनासो छ।














Discussion about this post