महेश सिंह,लहान –सिरहाको नरहा गाउँपालिका–२ स्थित जनता बनबाली नमूना मावि (प्राविधिक) बर्छवा परिसरमा सोमबार एक भव्य कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्ध चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रम (BEZOS PROJECT) अन्तर्गत बाल क्लबहरूको नेतृत्वमा आयोजना गरिएको सो प्रतियोगितामा चित्रमार्फत लैङ्गिक हिंसाको प्रभाव, चुनौती र समाधानलाई रचनात्मक ढंगले प्रस्तुत गरिएको थियो।
पालिकास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा विभिन्न माध्यमिक विद्यालयका छात्र–छात्राहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम प्रमोद यादव थिए भने उपाध्यक्ष गुलाब देवी चौधरीको पनि उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता बनबाली बाल क्लबका अध्यक्ष शुभम कुमार यादवले गरेका थिए।
कार्यक्रम समग्र जनउत्थान केन्द्र लहान र केयर नेपालको सहकार्यमा आयोजित गरिएको थियो। संयोजक देब कुमार महतोका अनुसार बाल क्लबहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको हो।
कार्यक्रममा वडा अध्यक्ष सम्झना सिंह, जिल्ला समन्वय समितिकी सदस्य शोभा कुमारी यादव, शिक्षा शाखा प्रतिनिधि सरस्वती साह, विद्यालयका प्रधानाध्यापक राम विलक्षण यादव, समाजसेवी राम ईश्वर यादव, र समग्र जनउत्थान केन्द्रकी सामाजिक परिचालक पूजा कुमारी साह लगायतको उपस्थिति रहेको थियो।
निर्णायक मण्डलको निर्णयअनुसार प्रतियोगितामा मिथिला बाल क्लब (पानवारी) प्रथम, बनबाली बाल क्लब (बर्छवा) द्वितीय तथा तृतीय स्थानमा घोषित भए। सान्त्वना पुरस्कार पनि मिथिला बाल क्लबले नै प्राप्त गर्यो। विजयी सहभागीहरूलाई मेटल शिल्ड, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो।
समापनमा सहभागीहरूको धारणा अनुसार, बालबालिकाको नेतृत्वमा आयोजित यस्ता रचनात्मक कार्यक्रमहरूले सामाजिक चेतना अभिवृद्धि गर्ने र बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने विश्वास व्यक्त गरिएको थियो।
Discussion about this post