महेश सिंह लहान- लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा डेटा व्यवस्थापन, विश्लेषण र तथ्यांक परीक्षणसम्बन्धी तीनदिने हातेमालो कार्यशाला मंगलबार सम्पन्न भएको छ।
युनिभर्सिटी ग्रान्ट्स कमिसन (UGC)को आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यशाला नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको सहकार्यमा आयोजना गरिएको हो। कार्यशालामा SPSS सफ्टवेयरको प्रयोगमार्फत तथ्यांक व्यवस्थापन, विश्लेषण तथा विभिन्न तथ्यांक परीक्षणबारे व्यवहारिक प्रशिक्षण दिइएको थियो।
कार्यशालामा मधेश प्रदेशका विभिन्न शैक्षिक संस्थाबाट आएका अनुसन्धानकर्ता, शिक्षक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको क्याम्पसले जनाएको छ। प्रशिक्षकहरूले अनुसन्धानलाई तथ्यपरक र वैज्ञानिक बनाउन आवश्यक विधिहरूमा सहभागीहरूलाई अभ्यास गराएका थिए।
क्याम्पसका क्याम्पस प्रमुखले यस्ता कार्यक्रमले अनुसन्धानको गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गरे। सहभागिहरूले भने कार्यशालाले अनुसन्धानमा प्रयोग हुने प्रविधि र उपकरणप्रति आफूहरूलाई थप जानकारीमूलक र सक्षम बनाएको प्रतिक्रिया दिएका छन्।
Discussion about this post