![]()
महेश सिंह लहान-धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ४ भलुवाही तथा जनकनन्दिनी गाउँपालिका वडा नं. १ मल्हनिया (सदाटोल) मा सञ्चालन हुँदै आएको निःशुल्क ट्युसन कक्षामा अध्ययनरत बालबालिकाहरूलाई चिसोबाट जोगाउन न्यानो सामग्री वितरण गरिएको छ।
मिथिला वेल्फेयर सोसाइटीको पहलमा गरिएको उक्त सहयोग अन्तर्गत बालबालिकालाई स्विटर, टाउजर, जुत्ता, मोजा लगायतका न्यानो कपडा तथा सामग्रीहरू वितरण गरिएको हो। जाडो मौसमका कारण बालबालिकाको पठन–पाठनमा असर नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
न्यानो सामग्री प्राप्त गरेपछि बालबालिकाहरू नियमित रूपमा कक्षामा सहभागी हुन थप उत्साहित भएको देखिएको छ। स्थानीय अभिभावकहरूले यस सहयोगले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
उक्त कार्यक्रम साक्षर मधेस प्रदेश,टोल शिक्षा सुधार अभियान, सक्षम, महिला केन्द्र नेपाल तथा राष्ट्रिय मुसहर संघको सहकार्यमा सञ्चालन भइरहेको निःशुल्क ट्युसन कार्यक्रम अन्तर्गत गरिएको हो। शिक्षा र समान अवसरमार्फत समुदाय सशक्तिकरण गर्ने अभियानलाई यसले थप बल पुगेको आयोजक संस्थाहरूले बताएका छन्।














Discussion about this post