![]()
महेश सिंह लहान सिरहा –युवाहरूको नेतृत्व र सामुदायिक सहभागिताको संयोजनमा जेनजी पुस्ताले बिष्णुपुरमा दीगो ज्ञान–अभियानको सुरुवात गरेका छन्। गाउँमा घट्दै गइरहेको अध्ययन संस्कृतिलाई पुनर्जीवन दिने उद्देश्यले उनीहरूले ‘साझा सामुदायिक पुस्तकालय’ स्थापना अभियान अघि बढाएका हुन्।
अभियानका अगुवा युवाहरूका अनुसार बिष्णुपुरमा पुस्तकालयको आवश्यकता वर्षौंदेखि महसुस भए पनि पहल गर्न कसैले जिम्मेवारी बोएनन्। अन्ततः सक्रिय जेनजी पुस्ताले गाउँमै दीगो शैक्षिक पूर्वाधार बनाउने लक्ष्यसहित पुस्तकालय अभियान सुरु गरेको हो।
जेनजी पुस्ताका इ. उपेन्द्र यादवका अनुसार, पुस्तकालयलाई यसपालि केवल पढ्ने कोठा नभई “समुदायको ज्ञान–केन्द्र”का रूपमा विकास गर्ने योजना छ। उनले भने, “गाउँमा संवाद, पाठ–संस्कृति र रचनात्मक गतिविधि पुनर्जीवित गर्न पुस्तकालय महत्वपूर्ण प्लेटफर्म हुनेछ।”
युवाहरूले पहिलो चरणमा स्थानीय पुस्ता, शिक्षक र प्रवासीहरूको सहयोग संकलन गरेर पुस्तकालय स्थापना गर्ने तयारी गरेका छन्। त्यसपछि विद्यालय–स्तरमा पुस्तकालय विस्तार अभियान चलाउने योजना छ।
अभियानका संयोजक रबिन यादवले जनसहभागितामार्फत स्रोत जुटाउन सुरु गरिएकाे बताए। उनका अनुसार, “यो केवल संरचना निर्माण अभियान होइन, पुस्तादर पुस्ता अध्ययन–संस्कृति पुनःस्थापना गर्ने दीर्घकालीन प्रयास हो।”
‘ज्ञान फैलाऔँ, पुस्तकालय बनाऔँ’ भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले बिष्णुपुरमा युवाहरूको शैक्षिक नेतृत्व र सामुदायिक चेतनाको नयाँ आयाम स्थापित गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।














Discussion about this post