![]()
महेश सिंह लहान सिराहा-लहानस्थित जिल्ला उद्योग वाणिज्य संघ सिरहाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित विभिन्न प्रशासनिक निकायका प्रमुखहरूलाई स्वागत तथा सम्मान गर्दै व्यावसायिक चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष विकास सारडाको अध्यक्षतामा तथा लहान नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा गाउँ ब्लकको जग्गा फुकुवा, खुला सीमाबाट हुने आवत–जावत नियन्त्रण, व्यवसायीको सुरक्षाको वातावरण, बैंकको ज्यादती, चारलेन सडक विस्तार, लागुऔषधको बढ्दो दुरुपयोग नियन्त्रण, मिटर ब्याज समस्या समाधान तथा स्थानीय तहमा देखिएको भ्रष्टाचार लगायतका मुद्दा प्रमुखरूपमा उठाइए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सिरहामा ४६ किलोलमिटर खुला सीमा रहेको उल्लेख गर्दै सीमा क्षेत्रमा अवस्थित पालिकाहरू सक्रिय नभएसम्म लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहने बताए। “प्रहरीले सक्दो प्रयास गरिरहेको छ, तर सीमा संरचनात्मक रूपमा खुला भएकाले समस्या जटिल बनेको छ,” उनले स्पष्ट पार।
उनले सिरहामा मिटर ब्याज सम्बन्धी करिब २ हजारभन्दा बढी उजुरीको समाधान भइसकेको दाबी गर्दै बाँकी वास्तविक पीडितहरूको मुद्दा अदालत प्रक्रियाबाट अघि बढ्ने बताए। बैंकिङ समस्या, व्यवसायीको सुरक्षा तथा औषध दुर्व्यसनी नियन्त्रणका विषयमा प्रशासन संवेदनशील रहेको उनको भनाइ थियो।
उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान नभए बजार सञ्चालनमै जोखिम बढ्ने चेतावनी दिए। “बोर्डर नियन्त्रण प्रभावकारी नभए व्यवसायी सिरहाबाट पलायन हुन बाध्य हुने अवस्था आउँदैछ,”अध्यक्ष सारडाले भने।
कार्यक्रममा उद्योग वाणिज्य संघ, स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।














Discussion about this post