![]()
किसान–सुकुम्बासीको हक खोसिने भन्दै चेतावनी
मधेशमा प्रतिरोध तीव्र पार्ने तयारी
महेश सिंह सिरहा-भूमिसम्बन्धी विधेयकलाई ‘दलाल र भूमाफियामुखी’ भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिबार सिरहाको मिर्चैयामा शक्ति प्रदर्शन गरेको छ।
जिल्लाका विभिन्न स्थानबाट भेला भएका नेता तथा कार्यकर्ताले मिर्चैया बजार र राजमार्ग परिक्रमा गर्दै विरोध र्याली निकाले। सहभागीहरूले भूमि विधेयक अविलम्ब फिर्ता लिन सरकारलाई दबाब दिएका थिए।
जसपा नेपालका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले विधेयकले भूमिहीन, सुकुम्बासी र किसानलाई कमजोर बनाउने भन्दै कडा प्रतिवादको घोषणा गरे। “मधेशको जमिन दलाल पुँजीपतिहरूलाई सुम्पिने षड्यन्त्र मधेशले सह्य गर्दैन,” उनले चेतावनी दिए, “यदि सरकारले विधेयक फिर्ता लिएन भने मधेशमा प्रतिरोध अझ व्यापक हुनेछ।”
स्थानीय नेताहरूले पनि यो विधेयक खारेज नभए आन्दोलनलाई प्रदेशव्यापी बनाउनुपर्ने आवाज उठाएका छन्। उनीहरूको भनाइमा भूमिसम्बन्धी विधेयक किसान र सुकुम्बासीलाई न्याय दिनुको साटो, शक्तिशाली र धनी वर्गलाई मात्रै लाभ हुने गरी ल्याइएको छ।
विश्लेषकहरूका अनुसार मिर्चैयाबाट सुरु भएको यो प्रदर्शन मधेशवादी दलहरूको राजनीतिक एजेन्डा बलियो पार्ने एउटा ‘संकेत’ पनि हो।














Discussion about this post