![]()
महेश सिंह सिरहा- समाचार लेखेकै कारण प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादव ज्यान मार्ने धम्की र दुर्व्यवहारको शिकार भएका छन्। सिरहाको विष्णुपुर गाउँपालिकासम्बन्धी अनियमितता उजागर गरेपछि यादवमाथि स्थानीय केही व्यक्तिले गम्भीर शब्दगत आक्रमण मात्र होइन, ज्यान लिने चेतावनीसमेत दिएका छन्।
विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू गाउँपालिका कार्यालयबाहिरबाट बाँडिएको विषयमा समाचार प्रकाशन भएपछि, स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरि पत्रकार यादवमाथि गालीगलौज गर्दै फोनमार्फत ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारको आरोप छ।
पत्रकार यादवले उक्त व्यवहारलाई प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर हमला भएको बताए। “मैले जनताको पैसामा भइरहेको बेथिति देखाएको हुँ, तर अहिले मेरो जीवन नै जोखिममा परेको छ,” यादवले भने।
नेपाल पत्रकार महासंघ सिराहा शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ। महासंघले दोषीहरूलाई अविलम्ब कानुनी कारबाही गर्न माग गर्दै प्रेस स्वतन्त्रता सिध्याउने यस्ता प्रवृत्तिविरुद्ध कडा रूपमा उभिन सञ्चारकर्मीहरूलाई आह्वान गरेको छ।
यस प्रकारको धम्की र दुर्व्यवहारले ग्रामीण क्षेत्रका पत्रकारहरूको अवस्था झनै जोखिमपूर्ण बनेको छ। सत्ताका नजिक रहेका व्यक्तिहरूले राज्य संयन्त्रको प्रयोग गरेर पत्रकारलाई दवाउने प्रवृत्तिले अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने विज्ञहरू बताउँछन्।
प्रेस काउन्सिल नेपालका एक पूर्वसदस्यका अनुसार, “पत्रकारमाथिको यस्तो व्यवहार सामान्य अपराध नभएर लोकतन्त्रमाथिको हमला हो।” उनले यस्ता घटनाको सार्वजनिक अनुसन्धान गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
यसबीच, जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। तर पीडित पक्षले प्रभावशालीको नाम मुछिएकाले अनुसन्धान निष्पक्ष हुनेमा आशंका व्यक्त गरेको छ।
पत्रकारको कलम जनताको पक्षमा खडा हुन्छ। यस्तो कलममाथि भएको कुनै पनि प्रकारको आक्रमण केवल व्यक्तिविशेषको होइन, लोकतान्त्रिक मूल्य र समाजको स्वाभिमानमाथिको हमला हो। पत्रकारिता सुरक्षित नहुन्जेल लोकतन्त्र बलियो हुँदैन।














Discussion about this post