![]()
महेश सिंह सिरहा सप्तरी- कन्चनरुप नगरपालिका–११ गोरपार निवासी ओम नारायण प्रमाणीले १६ कठ्ठा १८ धुर पुर्खौली जमिनको सुरक्षाका लागि लिएको सानो कर्जाले विगत १५ वर्षदेखि न्यायको लडाइँ लड्नुपरेको छ। २०६८ सालमा कृष्णसवर्ण गाउँपालिका, मौहलीका साहुसँग तीन लाख रुपैयाँ ऋण लिएका प्रमाणीले दुई लाख आठ हजार फिर्ता गरे पनि, साहु पक्षले जग्गा फिर्ता नगरेको पीडितको गुनासो छ।
पीडित प्रमाणीका अनुसार साहु दिनेश साह र उनकी श्रीमती ललिता साहले आफूलाई जानकारी नदिई २०७९ सालमा उक्त जग्गा हनुमाननगर कंकालनी नगरपालिका–८ का राधेश्याम मण्डललाई ठेक्का लगाएका थिए। पीडितले माघ २०७९ सम्म जग्गा खनजोत गरी जीविकोपार्जन गर्दै आएका थिए। त्यसपछि साहु पक्षले जिल्ला प्रशासन कार्यालयबाट चिठ्ठी ल्याएर र प्रहरीलाई मोटो रकम खुवाएर बलपूर्वक जग्गा कब्जा गरेको आरोप प्रमाणीले लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयमा पटकपटक छलफल भए पनि साहु पक्षले रकम फिर्ता लिन नमानेको र प्रहरी प्रशासनले निष्पक्षता नदेखाएको पीडितको भनाइ छ। “पैसा लिएर प्रहरीहरूले हाम्रो आवाज दबाए,” प्रमाणीको गुनासो छ।
पीडित प्रमाणीले मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन्। दर्ता नं. ३२५ र पछि अनुचित लेनदेनविरुद्ध मुद्दा नं. ३३८ समेत दर्ता गरेका छन्।
न्याय नपाएपछि पीडित प्रमाणी किसान मजदुर आन्दोलन नेपालसँग आबद्ध भई संघर्ष समिति र मिथिला कमान्डको सहयोगमा पुनः सोही जग्गा कब्जा गरी धान खेती सुरु गरेका छन्। मिथिला कमान्डका इन्चार्ज सूर्य नारायण मण्डलका अनुसार, “यो कब्जा अन्यायविरुद्धको आवाज हो। साहु पक्षले पुनः बाली वा झण्डामा क्षति पु¥याए आन्दोलन अझ कडा हुनेछ।”
कब्जा कार्यक्रममा संघर्ष समितिका जिल्ला अध्यक्ष विरेन्द्र सिंह, सचिव विजय चौधरी, कमल नारायण सिंहलगायत हजारौंको सहभागिता रहेको थियो। उनीहरूका अनुसार, “यो केवल एक व्यक्तिको पीडा होइन, सम्पूर्ण किसानको हकको लडाइँ हो।”
समाचारको पुष्टि गर्न साहु दिनेश साहसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन रहेको सम्पर्क हुन् नसकेको हो।




















Discussion about this post