![]()
महेश सिंह लहान –तत्कालीन माओवादी केन्द्रका नेता विजय गुप्ताका पिता रविन्द्र प्रसाद गुप्ताको भारतको पटनास्थित अस्पतालमा उपचारकै क्रममा हृदयघातका कारण निधन भएको छ। ७५ वर्षका गुप्ताको मंसिर ६ गते मृत्यु भएको परिवारले जनाएको छ।
स्वास्थ्य समस्याका कारण केही दिनदेखि पटनामा उपचाररत गुप्तालाई अचानक हृदयघात भएपछि ज्यान जोगाउन नसकिएको परिवार स्रोतले जनाएको हो।
मृतक गुप्ताले श्रीमती र तीन छोरालाई पछाडि छाडेका छन्। उनको अन्तिम संस्कार भारतस्थित निज निवासमै सम्पन्न गरिएको छ भने जेठा छोरा अजय गुप्ताले दागबत्ती दिएका हुन्।पुत्र विजय गुप्ताले “बाबुको निधनले परिवार मात्र होइन, सम्पूर्ण आफन्तजन स्तब्ध भएको” प्रतिक्रिया दिएका छन्।
लहान नगरपालिका–७ मा बसोबास गर्दै आएका गुप्ता परिवार सामाजिक तथा राजनीतिक वृत्तमा चिनिने घरानामध्ये एक मानिन्छ। मृतक रविन्द्र प्रसाद गुप्ता परोपकारी स्वभाव, मिलनसार व्यवहार र समुदायमा सक्रिय भूमिकाका कारण स्थानीयबीच ‘घरको धरोहर’का रूपमा परिचित भएको परिवारजन बताउँछन्।
अप्रत्याशित निधनले गुप्ता परिवार शोकमग्न बनेको छ भने शुभचिन्तक र स्थानीयले श्रद्धाञ्जलि अर्पण गर्दै समवेदना व्यक्त गरेका छन्।














Discussion about this post