मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई टाइमकार्ड लागू गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य र जोखिम हुने गरी तीव्रगतिमा सवारी साधन चलाउने गर्दा असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइमकार्ड लागू गरिएको हो।
मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र पालना भए/नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुनेछ।
मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ।
मुड्खुदेखि तीनपिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडकखण्डमा न्यूततम २५ मिनेट समय निर्धारण गरिएको छ।
तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने कार्यालयले जनाएको छ।
सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरेका छन्।
Discussion about this post