बारा २ बाट जितेका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका जसपा अध्यक्ष उपेन्द्र यादव संसद् छिर्ने दाउमा लागेका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ बाट उम्मेदवारी दिने तयारीमा उपेन्द्र लागेका छन् । तर चुनाव न हो उनी ढुक्क भने हुन सकेका छैनन् । त्यही कारण अहिले जसपाले बारा २ मा गठबन्धनको साझा उम्मेदवार हुनुपर्ने र सबैले जसपालाई समर्थन गर्नुपर्ने माग अघि सारेको छ ।
जसपाको यस्तो मागमा दश दलीय गठबन्धनमा रहेका सिके राउत नेतृत्वको जनमत पार्टी, लोसपा, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएका छन् । उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै यी तीनवटै दलले मिलेर जाने रणनीति बनाएका छन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी २ बाट उपेन्द्रलाई लज्जास्पद ढंगले हराएका सिके राउतले बारा २ मा पनि पनि उपेन्द्र यादवलाई जसरी पनि हराउने राउत रणनीतिमा लागेका छन् । सोही कारण राउत अहिले बारामै खटिएका छन् ।
राउतले यादवलाई फिरंगीको संज्ञा दिएका छन् । ‘अब बारा जिल्लावासीका वीरहरुको लागि चुनैती थपिएको छ, अब फिरंगी उम्मेदवारलाई यहाँबाट हराएर पठाउनुपर्छ,’ राउतले बुधबार कलैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने । कार्यक्रममा हजारौंको उपस्थिति थियो । राउत बारा आएपछि अहिले मुठभेडको संकेत देखिएको छ । यादव र राउतका कार्यकर्ता एकअर्काप्रति खनिने अवस्थामा आएको छ ।
सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर बारा २ मा उठ्ने उपेन्द्रको दाउ छ । तर जनमत, लोसपा र रास्वपा आपसमा मिलेर लडे भने उपेन्द्रलाई जित्न निकै कठिन हुने देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा जसपाका यादव साढे तीन सय मतान्तरले विजयी भएका थिए । उनलाई माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहाले कडा चुनौती दिएका थिए । जसपाकै बागी उम्मेदवारले १२ हजार र लोसपाका उम्मेदवारले १० हजारभन्दा बढी मत ल्याएकाले उपेन्द्र बारा २ मा पनि सुरक्षित नहुने देखिएको छ ।
Discussion about this post