मिटरब्याजका कारण पीडित बनेका विभिन्न जिल्लाका ७२ जना पैदलै हिँडेर संघीय राजधानी काठमाडौं गइरहेका छन्। उनीहरूको एउटै लक्ष्य हो, ‘प्रधानमन्त्रीलाई पीडा सुनाउने र समस्या समाधानमा सरकारलाई दबाब दिने।’ ९ दिनअघि झापा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र कैलालीबाट एकसाथ जम्मा भई उनीहरूले बर्दिबासबाट काठमाडांैका लागि पैदलयात्रा तय गरेका थिए। शुक्रबार उनीहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिका आइपुगेका थिए।
उनीहरू बिहीबार मकवानपुरको भीमफेदीस्थित धोर्सिङमा बास बसेका थिए। धोर्सिङबाट करिब ४० किलोमिटर उकालो यात्रा गर्दै उनीहरू शुक्रबार साँझ इन्द्रसरोवर गाउँपालिका—२ स्थित पञ्चकन्या विद्यालयमा बास बसे। उनीहरू बिहान सबेरैबाट उठेर हिँड्छन्। बेलुका जहाँ पुग्छन् त्यही आफैं खाना पकाएर खान्छन्, बास बस्छन्। ७ लाख रुपैयाँ ऋण लिएर मिटरब्याजीले २१ लाखसम्म पु¥याएकादेखि घरबार उठीबास लागेकासम्म यो यात्रामा रहेका छन्।
सप्तरी जिल्ला शम्भुनाथ गाउँपालिकाका मिटरब्याज पीडित महोमद मुस्तकिमका बाबुले घरजग्गा बन्धकी राखेर साहुसँग ७ लाख रुपैयाँ लिएका थिए। उक्त रकमको सावाँ, ब्याजसहित २१ लाख रुपैयाँ फिर्ता गर्दासमेत साहुले घर जग्गा फिर्ता नगरेपछि उनीसँग थप पैसा बुझाउन सक्ने अवस्था भएन। ‘अझै साहुले ६० लाख रुपैयाँ दिनुपर्ने भनेपछि मसँग अब केही बाँकी रहेन’, यसै यात्रमा रहेका मुस्तकिमले भने, ‘यही कुरा प्रधानमन्त्रीलाई सुनाउने हिँडेको हुँ।’
सिरहा जिल्ला अनवा गाउँपालिका घर भएका पीडित मायादेव चौधरीले पनि साहुसँग २ लाख ८१ हजार रुपैयाँ लिएका थिए। उक्त रकम साहुसँग २४ कठ्ठा १४ धुर जग्गा बन्धकी राखेर लिए पनि साहुको सावाँ, ब्याजसहित सबै रकम फिर्ता गर्दा समेत उनले जग्गा फिर्ता पाएका छैनन्। ‘अब हामीसँग कुनै विकल्प बाँकी छैन। साहुले भएको घरबारी र पैसा पनि खाएर सकाइदियो’, उनले भने, ‘हामी कानुनी लडाइँ गर्दा पनि बोलिदिने कोही छैन। अब राज्यले नै हाम्रो कुरा सुनिदिनुपर्छ।’
पीडितहरूले पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सरकारी निकाय र सरोकारवाला निकायहरूसमक्ष आफ्नो पीडा सुनाउँदै आएका थिए। तर, सबैतिरबाट आश्वासनबाहेक केही नपापछि चुलोचौका छाडेर अधिकांश पीडित महिलाहरूसमेत पैदलयात्रा पीडाको पोका लिएर काठमाडौं हिँडेका हुन्। अन्नपूर्ण पाेस्टबाट
Discussion about this post