बिराटनगर । मधेस प्रदेशको सिरहाबाट अपहरण गरि प्रदेश एकको राजधानी बिराटनगरमा लागि हत्या गरेको युवकको शव फेला परेको छ । फिरौती रकमका लागि मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या भएको खुलेको छ।
फिरौती रकमका लागि २३ असोजदेखी सिरहाबाट अपहरण गरिएका सिरहा जिल्लाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदाको विराटनगर बसपार्कस्थित एक होटेलको कोठाभित्र हत्या भएको खुलेको हो । सदाको शव प्रहरीले विराटनगर महानगरपालिका–१३ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ भित्र बक्स पलङमुनीबाट शुक्रबार दिउँसो बरामद गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा धनुषा कमल नगरपालिका–६ का १८ वर्षीय बिष्णु मण्डल र सोही उमेरका प्रशान्त मण्डल तथा मोरङ रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपित माथि अनुसन्धान थालेको मोरङका एसपी शान्तिराज कोइरालाले नवलपुर टुडेलाई जानकारी दिए।
एसपी कोइरालाका अनुसार ईँटाले मुख थुनेर ईटाले टाउकोमा प्रहार गरेर सदाको हत्या गरेको अपहरणकारीहरुले प्रारम्भीक सोधपुछका क्रममा स्विकार गरेका छन्। सिरहाको गोलबजार उत्तर चुरे क्षेत्रमा बस्दै आएका निम्न आर्थिक अवस्था भएका सदालाई अपहरणकारीले २३ असोजदेखी विराटनगर बसपार्कस्थित उक्त गेस्ट हाउसमा बन्धक बनाएर राखेको खुलेको छ ।
अपहरणकारीहरुलाई सिरहा प्रहरीको सूचनाका आधारमा फिरौती वापतको एक लाख रुपैयाँ बैंकबाट निकाल्न जानेक्रममा शुक्रबार मोरङ प्रहरीले पक्राउ गर्न सफल भएको हो। सोधपुछका क्रममा उनीहरुले गेस्ट हाउसमा अपहरण गरेका सदाको हत्याबारे प्रहरीलाई बताएका थिए। तर, निम्न आर्थिक अवस्था भएका दलित (मुसहर) समुदायका किशोरलाई नै किन अपहरण गरेर फिरौती मागे र घटनामा अन्य कोको संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको मोरङ प्रहरी एसपी कोइरालाले बताए।
प्रहरीले सदाको हत्या बिहीबार राती भएको हुनसक्ने आशं गरेका छन ।
Discussion about this post