![]()
महेश सिंह लहान- लहानका लागि ऐतिहासिक उपलब्धिका रूपमा ४७ वर्षदेखि कानुनी जटिलतामा अड्किँदै आएको रा.उ. प्रादेशिक अस्पताल लहानको जग्गा समस्या समाधान भएको छ। अस्पतालको नाममा १ विघा १५ कठ्ठा १० धुर जग्गा, रु. १ करोड ३४ लाखभन्दा बढी पुँजीगत लाभकर छुटसहित औपचारिक रूपमा अस्पताललाई हस्तान्तरण गरिएको छ।
लामो समयदेखि अन्योलमा रहेको जग्गा आज एक विशेष कार्यक्रमका बीच जग्गा दाता परिवारद्वारा प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो। यस ऐतिहासिक कार्यमा जेन–जी सरकारका मन्त्री माननीय बब्लु गुप्ताको विशेष पहल निर्णायक बनेको अस्पताल प्रशासनले जनाएको छ।
जग्गा हस्तान्तरण प्रक्रियामा अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहता, जी.उ.बा. संघ सिरहाका अध्यक्ष विकास सारडाको सक्रिय भूमिका रहेको थियो। साथै, मनकारी जग्गा दाता मुरारीलाल मुरारका र पवन शारदा, तथा मुरारका र शारदा परिवारको योगदानलाई स्थानीय स्तरमा उच्च सम्मानका साथ स्मरण गरिएको छ।
स्थानीयवासीका अनुसार अस्पतालको जग्गा समस्या समाधान हुनु भनेको लहान क्षेत्रको स्वास्थ्य सेवाको दीर्घकालीन विकासका लागि ऐतिहासिक मोड हो। अब अस्पतालको भौतिक पूर्वाधार विस्तार, सेवा सुविधा अभिवृद्धि तथा आधुनिक स्वास्थ्य संरचना निर्माणमा सहजता आउने अपेक्षा गरिएको छ।
कार्यक्रममा वक्ताहरूले यो उपलब्धि सरकार, अस्पताल प्रशासन, व्यवसायिक नेतृत्व र समाजसेवी दाता परिवारबीचको सहकार्यको सफल उदाहरण भएको उल्लेख गर्दै सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका थिए।
४७ वर्षपछि सम्पन्न भएको यो ऐतिहासिक कार्यले प्रादेशिक अस्पताल लहानलाई स्थायी, सुरक्षित र भविष्य उन्मुख स्वास्थ्य संस्थाको रूपमा अघि बढाउने आधार तयार गरेको विश्वास लिइएको छ।














Discussion about this post