![]()
महेश सिंह लहान सिरहा – सदियौँदेखिको गरिबी, उपेक्षा र शिक्षा अभावको चक्र तोड्दै लहान नगरपालिकाका मुसहर युवाहरूले सामूहिक नेतृत्व र एकताको आधारमा ‘मुसहर युवा संजाल’ गठन गरेका छन्। “हमर बच्चा हमर प्राण, शिक्षा मे दियौ योगदान” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान ६८ वटा मुसहर बस्तीका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पुर्याउने उद्देश्य राखेर सञ्चालनमा आएको हो।
सञ्जालका अनुसार लहान–१ देखि २४ का मुसहर बस्तीहरूमा बालबालिकालाई विद्यालय समयमा विद्यालयमै रहन सुनिश्चित गर्न बस्ती–बस्तीमा पुगेर जनचेतना कार्यक्रम प्रारम्भ भइसकेको छ। अभिभावकलाई शिक्षा आवश्यकताबारे बुझाउने, विद्यालय छुटाउने दर घटाउने र बालबालिकालाई पढ़ाइप्रति प्रेरित गर्ने अभियानको मुख्य लक्ष्य रहेको बताइएको छ।
युवाहरूले भनेका छन्, “हामी दशौँ वर्षदेखि पछाडि परेका छौँ। यो चक्र तोड्ने सबैभन्दा ठूलो शक्ति शिक्षा हो।” उनीहरूका अनुसार शिक्षाले समुदायलाई अधिकारका लागि बोल्न, गरिबी परास्त गर्न र आर्थिक रूपमा सशक्त बन्न सक्षम बनाउँछ।
अभियानको पहिलो चरण लहान–१२ को जटियाही टोलमा सम्पन्न गरिएको थियो भने दोस्रो चरण वडा नं. १५ को मेनहर्वा मुसहर बस्तीमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। हरेक शनिबार नियमित रूपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सञ्जालका प्रतिनिधि राजेन्द्र सदाले जानकारी दिए।
उनीका अनुसार मुसहर युवाहरूले कुनै संस्था वा निकायको सहयोग बिना स्वयंसेवामूलक रूपमा जनचेतना बढाउने, अभिभावक भेट्ने, विद्यालयसँग समन्वय गर्ने जस्ता काम निरन्तर गरिरहेका छन्। उनका शब्दमा, “यो अभियान समुदायबाटै उठेको परिवर्तनका लागि संघर्षको आदर्श उदाहरण हो।” अभियानले मुसहर बस्तीहरूमा शिक्षा पहुँच विस्तार, बालबालिकामा शैक्षिक अनुशासन र समुदायमा शिक्षा–केन्द्रित सोच विकास हुने अपेक्षा गरिएको छ।














Discussion about this post