![]()
महेश सिंह लहान-एलएमसी कलेज, लहानले नयाँ शैक्षिक सत्र २०८२/०८३ का कक्षा–११ का विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरणसहित भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
मंसिर ५ गते भएको कार्यक्रममा क्याम्पस परिसर उत्साह, उमङ्ग र सांगीतिक माहोलले भरिएको थियो।
कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष मोहन प्रसाद साह र राष्ट्रिय परीक्षा बोर्ड (NEB) लहानका प्रमुख प्रवीण कुमार पाण्डेले संयुक्त रूपमा गरे।
पाण्डेले नयाँ विद्यार्थीलाई आत्मविश्वासका साथ अवसरहरूलाई आत्मसात् गर्दै आगामी शैक्षिक यात्रामा दृढताका साथ अघि बढ्न प्रेरणा दिए। उनले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा, अनुशासन र व्यक्तित्व विकास कार्यक्रमको पनि प्रशंसा गरे।
कार्यक्रममा कलेज प्रमुख वीरेन्द्र यादवले एलएमसी कलेजको प्रमुख ध्येय प्रतिस्पर्धा होइन, विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि समर्पित शिक्षा प्रदान गर्नु रहेको बताए।
उनी भन्छन्, “हामी अरू कलेजसँग होइन, आफ्ना विद्यार्थीको भविष्य कसरी उज्यालो हुन्छ भन्ने प्रतिस्पर्धा गर्छौँ।”
कलेजका संस्थापक अरविन्द कुमार महराले विद्यार्थीले सफल हुन चार आधार चाहिने उल्लेख गरे—
संघर्ष, आत्मनिर्भरता, मेहनत र लगनशीलता।
सोही अवसरमा अर्को संस्थापक विजयकुमार यादवले सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्थीको भविष्य प्रभावित भइरहेको चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत बन्न आग्रह गरे। अर्का संस्थापक महेश कुशवाहाले विद्यार्थीको सफलता अनुशासनमा निर्भर हुने बताए। उनका अनुसार एलएमसीले अनुशासन, व्यक्तित्व विकास र व्यवहारगत सीपमा विशेष ध्यान दिँदै आएको छ।
कार्यक्रममा वरिष्ठ विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, गीत, लघु नाटकलगायतका सांस्कृतिक प्रस्तुतिले वातावरण झन् आकर्षक बनेको थियो।
वरिष्ठ विद्यार्थीहरूले आफ्ना अनुभव बाँड्दै कलेज जीवन, अध्ययन पद्धति र सह–पाठ्यक्रम गतिविधिमा सक्रिय रहन नयाँ विद्यार्थीलाई प्रेरित गरे।
कलेजका विभागीय प्रमुखहरूले विभिन्न सुविधा, शैक्षिक प्रक्रिया र क्याम्पस संरचनाबारे अभिमुखीकरण पनि प्रस्तुत गरे। कार्यक्रम अन्त्यतिर समूह–तस्बिर तथा जलपानको व्यवस्था गरिएको थियो, जसले नयाँ तथा पुराना विद्यार्थीबीच आत्मीयता र मित्रता बढाउन मद्दत गर्यो।
स्वागत कार्यक्रम अभिभावक, विद्यार्थी तथा कर्मचारीले मनपराएको र यसले नयाँ शैक्षिक सत्रको सफल सुरुआत गरेको कलेज प्रशासनले जनाएको छ।
कार्यक्रम सफल पार्न योगदान पुर्याउने सम्पूर्ण टिचिङ तथा नन–टिचिङ स्टाफप्रति कलेजले आभार व्यक्त गरेको प्राध्यापक अर्बिन्द मेहराले जनाए।














Discussion about this post