महेश सिंह सिरहा –संविधान जारी भएको दिनलाई मधेसमा अझै पनि फरक–फरक दृष्टिले मनाइँदै आएको छ। सिरहाको नरहा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता–कार्यकर्ताले संविधान दिवसलाई कालो दिनको रूपमा मनाएका छन्।
जसपा नेपालका नेता विजय यादवले २०७२ असोज ३ गते जारी संविधान मधेसविरुद्ध पक्षपाती भएको भन्दै मधेसमा त्यसलाई अस्वीकार गर्ने परम्परा कायम रहँदै आएको बताए। उनका अनुसार जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाललगायतका मधेसवादी दलहरूले हरेक वर्ष असोज ३ गते कालो दिवसको रूपमा विरोध कार्यक्रम गर्दै आएका छन्।
त्यसै दिन कांग्रेस र एमाले समर्थकहरूले भने संविधान दिवसलाई पर्वको रूपमा मनाउँदै आएका छन्। उनीहरूले मधेसमा दियो बालेर र आतसबाजी गरी संविधान दिवसलाई ‘दिवाली’को रूपमा मनाउने गरेका छन्।
सिरहामा जसपा नेपाल समर्थकहरूले निधार र हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्दै संविधानको विरोध जनाएका छन्। “संविधानले मधेसलाई अधिकारहीन बनाएको छ, त्यसैले यो हाम्रो लागि उत्सव नभई शोकको दिन हो,” नेता यादवले भने।
यसरी संविधान दिवसको दिन मधेसमा एकातिर दिवाली झैँ उत्सव र अर्कोतिर कालो दिवस मनाउने परम्पराले संविधानप्रतिको दृष्टि अझै दुई ध्रुवमा विभाजित रहेको देखाएको छ।
Discussion about this post