महेश सिंह लहान – जनकपुरधामस्थित रामानन्द चौकमा मेयर र मन्त्रीको गाडी आपसमा ठोक्किँदा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह घाइते भएका छन्। दुर्घटनामा मन्त्री सवार मधेश प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडी र मेयर चढ्ने मधेश प्रदेश ०३-००१ झ ००९६ नम्बरको गाडी आपसमा ठोक्किएको हो।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका दुवै गाडी अचानक आमनेसामने हुँदा ठोक्किएको थियो। स्थानीय प्रहरीले मन्त्री सिंहलाई उद्धार गरी तत्कालै नजिकैको अस्पतालमा पुर्याएको छ। अस्पताल स्रोतका अनुसार मन्त्रीको अवस्था स्थिर छ।
प्रहरीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। दुर्घटना कसरी भएको भन्नेबारेमा चालकहरूसँग बयान लिइँदैछ। यसैबीच, गाडी ठोक्किएपछि केहीबेर सडकमा सवारी आवागमन प्रभावित भएको थियो।
स्थानीय बासिन्दाले मन्त्री सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
Discussion about this post