मधेस आन्दोलनका सक्रिय योद्धा र पूर्व मन्त्री राजलाल यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुनः सक्रिय भूमिका निर्वाह गर्ने भएका छन्। लामो समयदेखि पार्टी गतिविधिबाट अलग रहँदै स्वतन्त्र रुपमा बस्दै आएका यादवलाई मनाउन जसपा नेपालका शीर्ष नेताहरूले मंगलबार उनको लहानस्थित निवासमा भेट गरेका थिए।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, राम चलितर महतो, परियाग लाल यादव,असेश्वर यादव, विजय कुमार यादव, र शिव उदगार यादवले यादवलाई भेटी पार्टीमा पुनः सक्रिय हुन आग्रह गरेका हुन्। भेटघाटका क्रममा नेताहरूले यादवलाई सम्मानस्वरूप फूलको माला र गम्छा प्रदान गरेका थिए।
राजलाल यादवले विगतमा मधेस आन्दोलनको नेतृत्व गर्दै सिरहामा पार्टी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान गरेका थिए। तर, केही वर्षदेखि पार्टी नेतृत्वको गतिविधिप्रति असन्तुष्ट भई पार्टीसँग दूरी बनाएका थिए। यादवले आफ्नो असन्तुष्टिका कारण पार्टी गतिविधिमा सहभागी नभएको स्वीकार गरे।
जसपाका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवले उनको गुनासा सम्बोधन गर्दै पार्टीलाई अझ सशक्त बनाउन राजलाल यादवजस्तो अनुभवी नेताको भूमिका अपरिहार्य रहेको बताए। यादवले पनि पार्टीको भावी कार्ययोजनामा सक्रियतापूर्वक सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
यो सहमति पश्चात् राजलाल यादवको पुनरागमनले सिरहा जिल्लामा जसपा नेपालको संगठन निर्माण र पार्टीलाई सशक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
Discussion about this post