असबीर सारु, सप्तरी -१७ वर्षीया आश्मा (नाम परिवर्तन) को पढ्ने रहर अझै पनि उस्तै छ। तर, दृष्टिविहिन जन्मिएकी सप्तरीको तिलाठी कोइलाडीकी आश्मा शिक्षाबाट बञ्चित भएकी छिन्। उनका अभिभावकको परम्परागत सोच र स्थानीय विद्यालयमा अपाङ्गता मैत्री संरचनाको अभावले उनको शिक्षाको बाटो रोकेको छ।
आश्माका सहेँलीहरू नजिककैको सामुदायिक विद्यालयमा भर्ना भए। तर दृष्टिविहिन आश्मालाई त्यहाँ भर्ना गरिएन। विद्यालयमा न दृष्टिविहिन विद्यार्थीहरूका लागि तालिमप्राप्त शिक्षक छन्, न उपयुक्त पठन सामग्री। विद्यालयको भौतिक संरचना पनि अपाङ्गता मैत्री छैन।
आश्माका अभिभावकले दृष्टिविहिन छोरीलाई घर बाहिर स्वतन्त्र रूपमा जान दिनु हुँदैन भन्ने सोच राख्छन्। “दृष्टिविहिन छोरी बिग्रिन्छिन्, बाहिर दुव्र्यवहारमा पर्छिन्” भन्ने डरका कारण अभिभावकले उनलाई स्रोत विद्यालयमा पठाउन अस्वीकार गरे। आश्माको आमाले छोरीलाई पढाएर केही हुँदैन भन्ने सोच राखेकी छन्।
विद्यालय जान पाएकी छैनन्। घरमै भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने काममा उनको दिन बित्छ। तर, उनले गरिरहेका कामलाई कसैले मूल्यांकन गरेको छैन। “परिवारका सदस्यहरूलाई कुन सामान कहाँ राखिएको छ, पत्ता लगाउन मेरा आँखा चाहिन्छ, तर मलाई कामको मान्यता दिइएको छैन,” आश्माको गुनासो छ।
नेपालको संविधान २०७२ ले अनिवार्य र निशुल्क शिक्षा हरेक बालबालिकाको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर, आश्माको अधिकार परिवारकै सोच र राज्यको असंवेदनशीलताले खोसिएको छ।
आश्माको पढ्ने रहर अझै मरेको छैन। “समयमै पढ्न पाएको भए म पनि केही गर्न सक्ने थिएँ। अझै पनि पढ्ने मौका पाए पढ्न चाहन्छु। पढाइ बिना जीवन अन्धकार जस्तो लाग्छ,” उनले भनिन्।
आश्माको कुरा केवल उनको निजी पीडा मात्र होइन, राज्यले दृष्टिविहिन बालबालिकाहरूलाई शिक्षामा पहुँच दिन नसकेको यथार्थ पनि हो। अपाङ्गता भएका बालबालिकाका लागि उपयुक्त संरचना र अभिभावकमा चेतना अभिवृद्धि गर्न राज्यले पहल नगर्ने हो भने यस्ता आश्माहरूको भविष्य अझै अन्धकारमै रहनेछ।
Discussion about this post