लहान – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्न दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। मंसिर ६ र ७ गते होटल दियालो लर्ड प्लाजा, वीरगञ्जमा आयोजित तालिममा विभिन्न १६ शाखा कार्यालयमा कार्यरत २७ जना सहायक र वरिष्ठ सहायक तहका कर्मचारीहरू तथा एकजना क्लस्टर प्रमुखको सहभागिता रहेको थियो। सहभागीमध्ये चारजना महिला कर्मचारी पनि थिए।
तालिमको उद्घाटन वित्तीय संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादवले गरेका थिए। कार्यक्रममा टाइम म्यानेजमेन्ट, कम्युनिकेशन, ग्राहक सम्बन्ध व्यवस्थापन, दृष्टिकोण विकास, असुली व्यवस्थापन, समस्या समाधान, निर्णय क्षमता, बजार व्यवस्थापन र जोखिम व्यवस्थापनजस्ता विषयमा समूह छलफल, व्याख्यान तथा अभिनयका माध्यमबाट प्रशिक्षण प्रदान गरिएको थियो।
समापन समारोहमा सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी, सान्दर्भिक र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकाइलाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सहभागीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै लिला उप्रेतीले तालिम व्यवस्थापन र प्रस्तुतिलाई उच्च मूल्यांकन गर्दै कार्यक्रमले थप ऊर्जा दिएको बताए।
तालिम विभागमा कार्यरत अधिकारी र इलाका कार्यालय वीरगञ्जका क्लस्टर प्रमुखले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। समापन कार्यक्रममा तालिम विभाग प्रमुख यादवले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
स्वावलम्बन लघुवित्तले कर्मचारीहरूको सीप र दक्षता अभिवृद्धि गर्न यस्ता तालिमलाई नियमित रूपमा प्राथमिकता दिने गरेको जनाएको छ।
Discussion about this post