![]()
महेश सिंह | लहान, सिरहा – सिरहाको लहान नगरपालिका–८ स्थित ग्लोबल एस.एस. कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सम्मानमा आयोजित बिदाइ समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
कलेजका संस्थापक प्रिन्सिपल भोला जित नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सिरहा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा जेसिज अगुवा शिव यादव, लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, प्याब्सन सिरहाका जिल्ला उपाध्यक्ष उमेश यादव, वरिष्ठ पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोषकुमार यादवलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गुप्ताले आफू संघीय लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै संघीयता नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको संरक्षण र सुदृढीकरण सबैको साझा दायित्व भएको उल्लेख गरे। “संघीयता बिना मेरो राजनीति सम्भव छैन, म संघीयताको विरोधमा कहिल्यै उभिन्नँ,” उनले भने। परिवर्तनको भूमि लहानका नागरिक सधैं लोकतान्त्रिक मूल्य, समावेशिता र संघीयताको पक्षमा रहेको उनको भनाइ थियो।
उनले शिक्षालाई समाज र राष्ट्र रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै कलेजबाट प्राप्त ज्ञान, अनुशासन र संस्कार विद्यार्थीहरूको जीवनभर मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे। आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिँदै उनले विद्यार्थीहरूलाई इमानदारी, परिश्रम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरे।
कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूलाई मायाको चिनो, खादा तथा मालासहित सम्मानपूर्वक बिदाइ गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। सहभागी विद्यार्थीहरूले पनि कलेजसँग बिताएका अविस्मरणीय क्षणहरूको स्मरण गर्दै शिक्षक तथा कलेज परिवारप्रति आभार व्यक्त गरेका थिए।
बिदाइ समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।











Discussion about this post