![]()
महेश सिंह सिरहा – धनगढीमाई नगरपालिका–३ कुरवामा माईतीघरमा बसेकी ३७ वर्षीया कोशीला मुखियाको जीवन कठोर संघर्षले भरिएको छ। करीब दुई दशकअघि गोलबजार नगरपालिका–५ धर्मपुरमा मागी विवाह गरेकी कोशीला अहिले पाँच सन्तानसहित माईती फर्कन बाध्य छिन्।
विवाहपछि पाएको थोरबहुत जग्गा पनि सडक विस्तारको क्रममा गुमेपछि उनी पूर्ण रूपमा सुकुम्बासी बनिन्। श्रीमान् दिलीप मुखिया मानसिक रोगी छन्। कमाउने र परिवार चलाउने जिम्मेवारी कोशीलामाथि आइपरेको छ। चार वर्षदेखि कुरवामै जीवन धान्दै आएकी कोशीलाको अवस्था अत्यन्तै नाजुक छ।
उनको पीडाले स्थानीय र विदेशमा रहेका युवाहरूलाई समेत भावुक बनाएको छ। पछिल्लो १२ वर्षदेखि कतारस्थित डब्लुएफसी (WFC) कम्पनीमा कार्यरत स्थानीय पवन कुमार मुखियाले पीडित कोशीलालाई सहयोग स्वरूप ३० हजार तिन सय रुपैयाँ पठाएका छन्। पवनकी श्रीमती मञ्जु मुखियाले उक्त सहयोग रकम उपलब्ध गराएकी हुन्।
शनिबार नगरप्रमुख शिवशंकर महतो र पूर्व वडा अध्यक्ष देवन साहको समन्वयमा प्रमुख महतोको हातबाट कोशीलालाई सहयोग रकम हस्तान्तरण गरिएको हो। प्रमुख महतोले पीडितको अवस्था देख्दा दुःख लागेको भन्दै घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, उनका छोराछोरीको शिक्षामा समेत नगरपालिका स्तरबाट सहयोग गर्ने आश्वासन दिए।
‘सडकले उनको जमिन मात्रै होइन, जीवनभरको आधार लिएको छ,’ नगरप्रमुख महतोले भने, ‘हामी नगरपालिका तर्फबाट यथासम्भव सहयोग गर्छौं।’
यसरी एक सहयोगी हातले कोशीलाको जीवनमा राहतको आभास दिएको छ। यस्ता विपन्न परिवारको संरक्षणमा राज्य र समाजले सशक्त कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ।




















Discussion about this post